दार्चुला । दार्चुलाको महाकाली नगरपालिकाले नगरभित्रका सबै संस्थागत (निजी) विद्यालयहरुलाई आइतबार विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ ।
नगरपालिकाले शुक्रबार जारी गरेको पत्रमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हेलो सरकार मार्फत निजी विद्यालयहरूमा आइतबार पनि पठनपाठन सञ्चालन भइरहेको भन्ने गुनासो प्राप्त भएको उल्लेख गरिएको छ।
सोही गुनासोका आधारमा जिल्ला प्रशासन कार्यालय, दार्चुलाको पत्रअनुसार आवश्यक निर्देशन जारी गरिएको नगरपालिकाले जनाएको छ ।
पत्रमा नेपाल सरकार मन्त्रिपरिषद्को शनिबार र आइतबार सार्वजनिक बिदा सम्बन्धी निर्णय तथा महाकाली नगरपालिकाको शैक्षिक कार्यपात्रोअनुसार व्यवस्था गरिएबाहेक आइतबार विद्यालय सञ्चालन नगर्न तथा सो निर्णयको पूर्ण पालना गर्न सबै संस्थागत विद्यालयलाई अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत तर्कराज भट्टले जानकारी दिए ।
