काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा १११ जनाको मृत्यु भएको छ । ८७ भन्दा बढी घाइते भएका छन् ।
कोलम्बियाका काली लगायत प्रमुख सहरहरूमा बहुतले भवनहरू भत्किँदा कैयौँ मानिस भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।
घटनालगत्तै नवनिर्वाचित राष्ट्रपति अबेलार्डो डि ला एस्प्रियालाले देशमा राष्ट्रिय संकटकाल घोषणा गर्दै उद्धार तथा राहत कार्यको नेतृत्व आफैँ सम्हाल्ने बताएका छन् ।
भूकम्पको केन्द्रविन्दु कोलम्बियाको प्रशान्त महासागरीय तटीय क्षेत्रमा रहेको चोको प्रान्तको पूर्वोत्तर सीमाना, तातामा राष्ट्रिय निकुञ्जनजिकै, जमिनको सतहबाट करिब १०७ किलोमिटर गहिराइमा रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पको शक्तिशाली धक्का छिमेकी मुलुक पानामा, इक्वेडर र भेनेजुएलासम्म महसुस गरिएको थियो ।
भूकम्पका कारण एक हजार ५७५ भन्दा बढी घरमा क्षति पुगेको छ । तीमध्ये ३७ वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् । ६१ वटा भवन भत्किएका छन् । १८ वटा स्वास्थ्य केन्द्र र ५२ वटा विद्यालयमा पनि क्षति पुगेको छ ।
संरचनात्मक क्षतिको मूल्यांकन गर्न काली, परेरा, मनिजालेस, किब्डो, आर्मेनिया र कार्टागो लगायत कम्तीमा ६ वटा विमानस्थलमा उडान सेवा पूर्ण रूपमा स्थगित गरिएको छ ।
प्रभावित क्षेत्रमा उद्धार कार्य
कालीका मेयर अलेहान्ड्रो एडरका अनुसार सहरमा कम्तीमा २० वटा भवन भत्किएका र ती भवनमा मानिसहरू फसेका बताइएको छ । उनले बोगोटा र मेडेलीनका प्रमुखहरूसँग थप उद्धार टोली पठाउन अपिल गरेका छन् ।
यसैगरी, रिसाराल्डा प्रान्तमा ४० जना र चोको क्षेत्रमा १२ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । भूकम्प गएको करिब एक घण्टापछि ५ म्याग्निच्युडको पराकम्पन समेत महसुस गरिएको थियो ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले कोलम्बियालाई आवश्यक सबै सम्भव सहयोग गर्न युरोपेली संघ (ईयू) तयार रहेको बताउँदै ‘कपरनिकस’ भूउपग्रह सेवा परिचालन गरिएको जानकारी दिएकी छन् ।
यस्तै, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि घटनाक्रमलाई नजिकबाट नियालिरहेको र अमेरिका सहयोगका लागि तयार रहेको बताएका छन् । डीडब्ल्यू
