कञ्चनपुर ।
सम्पत्ति शुद्धीकरणको कसुर लागेका नेपाल सरकारका सहसचिव मदन दाहालसँग बिशेष अदालतले १५ लाख रुपैयाँ धरौटी माग गरेको छ। दाहाल बीमा प्राधिकरणको अध्यक्ष हुँदा बिचौलिया दीपक भट्टको स्वार्थअनुसार हिमालयन रिइन्स्योरेन्स लगायत कम्पनीको पक्षमा नीतिगत सहयोग गरेको अभियोगमा गत २८ जेठमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो।
सोमबार अदालतमा उपस्थित भएका दाहालको बयानपछि थुनछेक आदेश भएको हो। पदीय जिम्मेवारीसमेतलाई ध्यानमा राखेर बिशेषले १५ लाख रुपैयाँ धरौटी माग गरेको हो । दाहाल पछिल्लो समय सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा कार्यरत थिए। मुद्दा लागेपछि मन्त्रालय नआएका सहसचिव दाहाल अहिले धरौटी बुझाएपछि काममा फर्किने नफर्किने बारे अन्यौलता छाएको छ ।
