उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाद्वारा बाढिपिडितलाई आर्थिक सहयोग

कञ्चनपुर ।
रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, महेन्द्रनगर, कञ्चनपुरले २ लाख ११ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

संस्थाले प्राकृतिक विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

संस्थाले जारी गरेको अपिलमा विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको तत्काल आवश्यकता पूरा गर्न तथा कठिनाइलाई मध्यनजर गर्दै बाढी प्रभावित क्षेत्रका बासिन्दाको राहत तथा पुनःस्थापनाका लागि २ लाख ११ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

सहकारीले विपद् कसैको व्यक्तिगत समस्या नभई सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै विपद्मा परेका नागरिकलाई सहयोग गर्न सबैलाई आह्वानसमेत गरेको छ। साथै आगामी दिनमा पनि समुदायको सुख–दुःखमा साथ दिँदै आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने जनाएको छ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्द र अध्यक्ष नारा जोशीद्वारा हस्ताक्षरित अपिलमार्फत सहयोगको घोषणा गरिएको हो।

उदयदेव सहकारीको यो सहयोगले विपद्का बेला मानवीय संवेदना र सामाजिक उत्तरदायित्व निर्वाह गर्न सहकारी संस्थाहरूको भूमिकालाई थप उजागर गरेको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.