कञ्चनपुर ।
कञ्चनपुरको उत्तरी भेग हल्दुखाल तिलाचौरका महिलाहरुले तिज मनाउने खर्च भोटेकोशी वाढीपीडितलाई सहयोग गरेका छन ।
भीमदत्त नगरपालिका ७हल्दुखाल र ८ तिलाचौरका महिलाहरुले तिज मनाउने खर्च वाढीपीडितलाई सहयोग गरेका हुन । हल्दुखाल, तिलाचौरको ब्रह्मटोल आमा समुहले तीजमा गर्ने खर्च वाढीपीडितको राहतका लागि सहयोग गरेको जनाएका छन ।
ब्रम्हटोल आमा समुहकी अध्यक्ष मिनादेवी कार्कीले तीजमा महिलाहरुले गर्ने खर्च कटाएर वाढीपिडित नागरिकको राहत उद्दारका लागि सहयोग गरेको बताईन । उनका अनुसार प्रधानमन्त्री दैविप्रकोप उद्धार राहत कोषमा २१ हजार, ६सय १०रुपैया जम्मा गरिएको छ ।
ब्रम्हटोल आमा समुहकी सचिव लक्ष्मी बडालले देश संकटमा परेका बेला पीडित दिदिबहिनीकै राहतका लागि उक्त रकम सहयोग गरेको बताए । ब्रम्हटोलका महिलाहरुले देशको जुनसुकै स्थानमा रहेका महिलामाथि पीडा पर्दा आफुहरुको सक्दो सहयोग, सद्भाव देखाएको बताएका छन । यसरी ब्रम्हटोलका महिला दिदिबहिनी समुहले वाढीपीडितका लागि देखाएकोे सद्भावले नागरिक समाज समेत हर्षित भएको छ ।
