रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार महराको कुशको शव बनाएर अन्त्येष्टि

धनगढी: रसुवाको मितेरी पुलमा कर्तव्य पालनाका क्रममा भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएका नेपाल प्रहरीका सहायक हवलदार हिक्मत महराको प्रतीकात्मक अन्त्येष्टि गरिएको छ।

बैतडीको दोगडाकेदार गाउँपालिका–२ बसाड पुख्र्यौली घर भई हाल कैलालीको गोदावरी नगरपालिका–४ बासकोटमा बस्दै आएका महरा २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका थिए। लामो समयसम्म खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेपछि परिवारले हिन्दु संस्कारअनुसार कुश र काँसबाट प्रतीकात्मक शव बनाएर शनिबार अन्त्येष्टि गरेको हो।

बासकोटस्थित निवासबाट बिहान ८ बजे सुरु भएको प्रतीकात्मक शवयात्रा गोदावरी आर्यघाट पुगेपछि धार्मिक संस्कारअनुसार अन्त्येष्टि गरिएको परिवारले जनाएको छ। अन्त्येष्टिमा आफन्त, शुभचिन्तक तथा स्थानीयको सहभागिता रहेको थियो।

महरासहित भोटेकोशी बाढीमा सुदूरपश्चिमका चार जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका थिए। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार नेपाल प्रहरीका हवलदार नरेन्द्रप्रसाद भट्ट, सहायक हवलदार हिक्मत महरा, प्रहरी जवान नारद सार्की र सशस्त्र प्रहरी जवान बिनिता बोहरा बाढीपछि सम्पर्कविहीन भएका थिए।

बाढीमा रसुवामा कार्यरत ठूलो संख्याका सुरक्षाकर्मीसमेत सम्पर्कविहीन भएका थिए। प्रहरीको विवरणमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी २८ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका थिए।
उनको शव फेला नपरे पनि लामो समयसम्म अवस्था अज्ञात रहेपछि परिवारले धार्मिक संस्कारअनुसार प्रतीकात्मक अन्त्येष्टि गरेको हो।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.