धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेशमा बजेट शून्यताको अवस्था छिटो अन्त्य गर्न सरकारसँग माग गरेको छ ।
मंगलबार संसदीय दलको बैठकले बजेटको अभावमा प्रदेश सरकारका नियमित काम कारबाही, विकास निर्माण तथा सार्वजनिक सेवा प्रभावित हुन थालेको जनाउँदै तत्काल बजेटसम्बन्धी प्रक्रिया टुंग्याउन सरकारको ध्यानाकर्षण गराएको हो ।
संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले नियमित प्रशासनिक कामसमेत प्रभावित हुने अवस्था सिर्जना भएको उल्लेख गर्दै आगामी असोज १५ गतेभित्र बजेट पारित गर्न सरकारसँग माग गरेको हो ।
चाडपर्व नजिकिँदै गएको समयमा अत्यावश्यक सेवा प्रवाहमा समेत बजेट शून्यताको असर पर्न थालेको भन्दै बैठकले नागरिकका दैनिक सरोकारका सेवा प्रभावित हुन नदिन आग्रह गर्ने निर्णयसमेत कांग्रेसले गरेको छ ।
बैठकले बजेट पारित गर्ने विषयमा प्रदेशसभाको प्रभावकारी भूमिका सुनिश्चित गर्दै आवश्यक सहमति र संवादमार्फत निकास खोज्न सरकारसँग आग्रह गरेको छ । बजेट शून्यताको अवस्था बढ्दा प्रदेशको विकास, सेवा प्रवाह र प्रशासनिक गतिविधिमा थप असर पर्नेतर्फ गम्भीर बन्न सरकारलाई ध्यानाकर्षण गराइएको छ ।
यसअघि तत्कालीन मुख्यमन्त्री शाहले प्रदेशसभामा आर्थिक वर्ष २०८३र८४ को बजेट पेस गरिसकेको अवस्थामा सरकार फेरिएपछि हालसम्म बजेट ल्याइएको छैन । रासस
