काठमाडौं । जलविद्युत र सौर्य ऊर्जामा लगानी गर्दै आएको अपि पावर कम्पनी लिमिटेडले आफ्नो व्यवसायको दायरा फराकिलो बनाउँदै रियल स्टेट क्षेत्रमा प्रवेश गरेको छ । ऊर्जा क्षेत्रमा आफ्नो पहिचान बनाएको कम्पनीले अब अपार्टमेन्ट, हाउजिङ र पूर्वाधारका परियोजनामार्फत रियल स्टेट बजारमा उपस्थिति जनाउन थालेको हो ।
अपि पावरले शतप्रतिशत लगानी रहेको भगिनी संस्था अपि इन्फ्रा लिमिटेड स्थापना गरी रियल स्टेट व्यवसाय अघि बढाएको हो । सन् २०२४ मा स्थापना भएको अपि इन्फ्राले काठमाडौं उपत्यकामा अपार्टमेन्ट तथा व्यावसायिक भवन निर्माणलाई प्राथमिकतामा राखेको छ ।
कम्पनीका अनुसार अहिले अपि इन्फ्राले ललितपुरको झम्सीखेलमा प्रिमियम अपार्टमेन्ट निर्माण गरिरहेको छ भने नयाँ बानेश्वरमा पनि अर्को परियोजना अघि बढाइरहेको छ । कम्पनीका सञ्चालक सञ्जीव न्यौपानेका अनुसार झम्सीखेलको परियोजना कम्पनीको रियल स्टेट यात्राको पहिलो परियोजना हो ।
करिब ३ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको यो परियोजनामा ४३ वटा आवासीय युनिट रहनेछन् । करिब १ अर्ब २७ करोड ७० लाख रुपैयाँ अनुमानित लागत रहेको परियोजना १० तले भवनका रूपमा निर्माण भइरहेको छ ।
झम्सीखेलको परियोजनालाई कम्पनीले प्रिमियम वर्गका ग्राहकलाई लक्षित गरेको छ । शिक्षण संस्था, अस्पताल, बैंक, एटीएम, सपिङ मल तथा खुद्रा पसलको सहज पहुँच हुने स्थानमा निर्माण भइरहेको अपार्टमेन्टमा आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर विभिन्न सुविधा राखिएको कम्पनीको भनाइ छ ।
सामुदायिक बैठक हल, फिटनेस सेन्टर, सीसीटीभीसहितको सुरक्षा, पानी प्रशोधन प्लान्ट, भरपर्दो विद्युत् आपूर्ति, ढल प्रशोधन प्रणाली, स्मार्ट सुविधासहितका युनिट र ईभी चार्जिङ स्टेसन परियोजनाका प्रमुख विशेषता हुन् ।
तर अपि इन्फ्राले आफ्नो रियल स्टेट यात्रालाई झम्सीखेलमै मात्र सीमित राख्न खोजेको छैन । कम्पनीले त्यसपछि नयाँ बानेश्वरमा मध्यमवर्गीय परिवारलाई लक्षित गर्दै अर्को अपार्टमेन्ट परियोजना अघि बढाउने तयारीसमेत गरेको छ । मीनभवन क्याम्पसको ठ्याक्कै अगाडि निर्माण गर्ने लक्ष्य राखिएको उक्त परियोजनामा दुई र तीन बेडरुमका गरी ५३ वटा युनिट रहनेछन् । कम्पनीका अनुसार निर्माणको काम तिहारपछि सुरु गर्ने तयारी छ ।
घर बनाउन फुर्सद छैन
नेपालको सहरी जीवनशैलीमा आएको परिवर्तनले अपार्टमेन्ट बजार विस्तारको सम्भावना बढाएको न्यौपानेको बुझाइ छ । उनका अनुसार अहिलेको पुस्तासँग आफ्नै घर निर्माणको सम्पूर्ण प्रक्रियामा समय खर्च गर्ने फुर्सद कम हुँदै गएको छ । त्यसैले सुविधा सम्पन्न र प्राइम लोकेसनमा तयार आवास खोज्ने प्रवृत्ति बढिरहेको छ ।
‘अबको जमाना भनेको घर बनाएर बस्ने मान्छेसँग फुर्सद छैन । हामी आधुनिक युगमा प्रवेश गरिसकेका छौं,’ सञ्चालक न्यौपाने विकासन्युजसँग भने, ‘त्यही भएर मान्छेहरूले सुविधा सम्पन्न प्राइम लोकेसनमा अपार्टमेन्ट खोजिरहेका छन् ।’
यही बदलिँदो मागलाई लक्षित गर्दै कम्पनीले झम्सीखेलमा प्रिमियम र नयाँ बानेश्वरमा तुलनात्मक रूपमा अफोर्डेबल अपार्टमेन्ट निर्माणको रणनीति लिएको हो ।
३० प्रतिशत रकमबाटै अपार्टमेन्ट
रियल स्टेट बजारमा ग्राहक आकर्षित गर्ने अर्को पक्ष वित्तीय सुविधा भएको कम्पनीको दावी छ । अपि इन्फ्राले आफ्ना अपार्टमेन्टमा ७० प्रतिशतसम्म बैंक फाइनान्सिङको सुविधा उपलब्ध हुने बताएको छ । कम्पनीका अनुसार कुमारी बैंकबाट ७ वर्षको फिक्स्ड ब्याजदरमा ऋणको सुविधा लिन सकिने व्यवस्था गरिएको छ ।
यसको अर्थ ग्राहकले करिब ३० प्रतिशत रकमको जोहो गरेपछि बाँकी रकम बैंक ऋणमार्फत व्यवस्थापन गर्न सक्ने प्रस्ताव कम्पनीले अघि सारेको छ । ‘जम्मा ३० प्रतिशत मात्रै तपाईंले पैसा लिएर आउँदाखेरि चाहे बानेश्वर भन्नूस्, चाहे झम्सीखेल भन्नूस्, आफ्नो सपनाको संसार बसाल्न सहकार्य गर्न सक्ने प्रस्ताव हामीले ल्याएका छौं,’ न्यौपाने भन्छन् ।
कम्पनीको दाबी भने यत्तिमै सीमित छैन । रियल स्टेट क्षेत्रमा आफ्नो प्रतिस्पर्धात्मक आधार समयमै निर्माण र हस्तान्तरण बनाउने उसको योजना छ । नेपालमा निर्माण सुरु भएका धेरै अपार्टमेन्ट समयमै सम्पन्न नहुने, हस्तान्तरणमा ढिलाइ हुने तथा खरिदकर्ताले समयमा लालपूर्जा नपाउने गुनासो रहेको भन्दै न्यौपानेले अपि इन्फ्राले त्यसलाई फरक ढंगले सम्बोधन गर्ने दाबी गर्छन् ।
‘नेपालमा धेरैवटा अपार्टमेन्टहरू समयमा बनिरहेका छैनन्, समयमा ह्यान्डओभर भएका छैनन्, मान्छेले लालपूर्जा समयमा पाएका छैनन् । हामी त्यो चीजलाई चिर्ने हाम्रो प्रयास हो र हाम्रो कमिटमेन्ट पनि हो,’ उनले विकासन्युसँगको कुराकानीमा भने ।
ऊर्जा कम्पनी किन पुग्यो रियल स्टेटमा ?
अपि पावरका लागि रियल स्टेट पूर्णत: नयाँ क्षेत्र भने होइन, तर व्यवसाय विस्तारको नयाँ अध्याय भने हो । कम्पनीका करिब १ लाख ८० हजारभन्दा बढी सेयरधनी रहेको र नेप्सेमा सूचीकृत सार्वजनिक कम्पनीका रूपमा यसले लगानीका सम्भावित क्षेत्र पहिचान गर्दै व्यवसाय विविधीकरणको रणनीति लिएको न्यौपाने बताउँछन् । जलविद्युत र सौर्य ऊर्जामा लगानी गरिसकेको कम्पनीले अब रियल स्टेटसँगै ठूला पूर्वाधार परियोजनातर्फ पनि सम्भावना खोजिरहेको छ ।
टनेल रोड, टोल रोडजस्ता पूर्वाधारमा काम गर्ने सम्भावनाबारे कम्पनीले अध्ययन गरिरहेको छ । त्यस्तै, हाइड्रोजनमार्फत इन्धनको विकल्प विकास गर्न सकिन्छ कि भन्ने विषयमा अनुसन्धान तथा विकासको छुट्टै विङमार्फत काम भइरहेको न्यौपाने बताउँछन् । कम्पनीको मूल उद्देश्य भने लगानीको दायरा फराकिलो बनाएर सेयरधनीका लागि प्रतिफलका नयाँ सम्भावना खोज्नु हो । ‘लगानीका लागि मुनाफादायी क्षेत्रहरू सबै दृष्टिकोणबाट पहिचान गर्नुपर्छ । ऊर्जा क्षेत्रमा जलविद्युत गर्यौं, सोलार गर्यौं भने अब रियल स्टेटतिर आएका छौं,’ न्यौपानेले भने ।
लो–कस्ट हाउजिङतर्फ पनि नजर
अपि इन्फ्राको आगामी योजना प्रिमियम अपार्टमेन्टमा मात्र सीमित छैन । कम्पनीले कम लागतका आवासीय परियोजना अर्थात् लो–कस्ट हाउजिङलाई पनि आफ्नो दीर्घकालीन योजनामा राखेको छ । नेपालमा ठूलो पुँजी नभएका परिवारका लागि पनि व्यवस्थित आवास आवश्यक रहेको भन्दै कम्पनीले भविष्यमा त्यसतर्फ काम गर्ने बताएको छ । ‘साना–साना मान्छेसँग धेरै पुँजी हुँदैन । तर मान्छेहरूलाई पनि गाँस, बासको व्यवस्था त गर्नैपर्यो,’ न्यौपाने भन्छन्, ‘त्यसप्रति हामी टार्गेटका साथ काम गरिरहेका छौं ।’
काठमाडौं उपत्यकाबाहिरका प्रमुख सहरमा पनि कम्पनीले विस्तारको सम्भावना खोजिरहेको छ । पोखरा, विराटनगरलगायत तीव्र रूपमा बस्ती विस्तार भइरहेका सहरमा सरकारसँग सहकार्य गरेर स्मार्ट अपार्टमेन्ट तथा लो–कस्ट हाउजिङ विकास गर्ने उसको योजना छ ।
बानेश्वरमा अपि टावर
आवासीय अपार्टमेन्टसँगै अपि इन्फ्राले व्यावसायिक भवनतर्फ पनि लगानी विस्तार गरेको छ । नयाँ बानेश्वरमा कम्पनीले अपि टावर निर्माण गरिरहेको छ । करिब ४२ करोड ६० लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त टावरमा ३४ प्रतिशत ऋण र ६६ प्रतिशत इक्विटी हुने गरी लगानी संरचना बनाइएको छ ।
टावर निर्माण सम्पन्न भएपछि कर्पोरेट कार्यालयहरूलाई भाडामा दिने कम्पनीको लक्ष्य छ । जग्गा खरिद गरी निर्माण अघि बढाइएको टावर सन् २०२७ को डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसरी अपि इन्फ्राको रियल स्टेट व्यवसाय आवासीय र व्यावसायिक दुवै क्षेत्रमा विस्तार हुँदैछ ।
रियल स्टेट क्षेत्रमा प्रवेश गरेसँगै कम्पनीले सरकारसँग नीतिगत सुधारको अपेक्षा पनि अघि सारेको छ । घरजग्गा व्यवसायीले जग्गाको हदबन्दी, नक्सा पास, मालपोत, राजस्व तथा करलगायतका विभिन्न प्रक्रियामा समस्या भोग्नुपरेको न्यौपानेको भनाइ छ ।
विशेषगरी विभिन्न सरकारी निकायमा धाउनुपर्ने प्रक्रियाले परियोजनाको समय र लागत दुवै बढाउने गरेको उनको तर्क छ । ‘काठमाडौं उपत्यका विकास प्राधिकरण (केभीडिए) जानुपर्ने छ, भवन विभाग जानुपर्ने छ, विभिन्न निकायबाट धाउँदा–धाउँदा अपार्टमेन्ट बनाउन या घरको प्लटिङ गर्न पाउने स्वीकृतिका स्टेपहरू धेरैवटा फड्को भयो,’ उनी भन्छन् ।
त्यसैले घरजग्गा व्यवसायका लागि नक्सा पासदेखि लालपूर्जासम्मको प्रक्रियालाई एउटै प्रणालीबाट सञ्चालन गर्नुपर्ने उनको माग छ । ‘नक्सा पासदेखि लिएर लालपूर्जासम्मका कुरालाई एकद्वार प्रणालीबाट गर्न सकियो भने धेरै हदसम्म समस्या समाधान भएर जान्छ,’ सञ्चालक न्यौपानेले भने ।
उनले सरकारलाई घरजग्गा व्यवसायीका समस्या र नीतिगत पेचबारे खुला बहस गर्न पनि आग्रह गरेका छन् । हदबन्दी, कर तथा राजस्वका विषयमा स्पष्ट र व्यावहारिक नीति आवश्यक रहेको उनको भनाइ छ ।
जलविद्युतपछि आवास र पूर्वाधारमा प्रवेश
अपि पावरको रियल स्टेट प्रवेशलाई कम्पनीको लगानी विविधिकरणको एउटा पाटोका रूपमा हेर्न सकिन्छ । कम्पनीले अहिलेसम्म जलविद्युत तथा सौर्य ऊर्जाका आधा दर्जन आयोजनाबाट विद्युत् उत्पादन गरिरहेको छ ।
४० मेगावाटको माथिल्लो चमेलिया, ८.५ मेगावाटको नौगाड, ८ मेगावाटको अपर नौगाड तथा ४ मेगावाटको चन्द्रपुर सोलारसँगै १/१ मेगावाटका ढल्केबर र सिमरा सोलार परियोजनाबाट कम्पनीले कुल ६२.५ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ ।
त्यसैगरी, कम्पनीले ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेंसी जलविद्युत आयोजनामा पनि अघि बढ्ने तयारी गरेको छ । दिव्य ज्योति हाइड्रोपावरले प्रवद्र्धन गरिरहेको उक्त आयोजना अपिले एक्वायर गरिसकेको छ ।
ऊर्जाबाट सुरु भएको अपि पावरको लगानी यात्रा अब आवास, व्यावसायिक भवन र सम्भावित ठूला पूर्वाधारसम्म फैलिने संकेत देखिएको छ । तर रियल स्टेटमा कम्पनीका लागि चुनौती पनि कम छैनन् । निर्माण लागत, वित्तीय व्यवस्थापन, जग्गाको मूल्य, सरकारी स्वीकृति, बजारको माग र समयमै परियोजना सम्पन्न गर्ने प्रतिबद्धता परीक्षण हुनेछन् ।
अपि इन्फ्राका सञ्चालक न्यौपाने भने यही चुनौतीबीच कम्पनीले आफ्नो पहिचान बनाउन प्राइम लोकेसन, आधुनिक सुविधा, वित्तीय पहुँच र समयमै हस्तान्तरण गर्न खोजिरहेको बताउँछन् । जलविद्युतबाट सुरु भएको अपि पावरको व्यवसायिक यात्रा अब कंक्रिटका टावर र अपार्टमेन्टसम्म आइपुगेको छ ।
