सुदूरपश्चिममा शुक्रबारदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोले विभिन्न जिल्लामा जनजीवन प्रभावित भएको छ । बाढी तथा पहिरोको जोखिम बढेपछि कञ्चनपुर, डडेल्धुरा र दार्चुलामा दर्जनौँ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा जोगबुडा नदीको बाढी बस्तीमा पस्ने जोखिम बढेपछि वडा नम्बर ७ को रामपुरे टापुका १३ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
यस्तै, वडा नम्बर ८ का पाँच र जर्गा टोलका १० परिवारलाई पनि जनज्योति माध्यमिक विद्यालयमा राखिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी पदमबहादुर विष्टले जानकारी दिए ।
डडेल्धुराको परशुराम नगरपालिकाको थापथलीमा पन्तुरा खोलाले कटान गरेपछि चार घर जोखिममा परेका छन् । जोखिममा रहेका परिवारलाई सिद्धनाथ विद्यालयमा राखिएको एसएसपी विष्टले बताए ।
दार्चुलाको व्यास गाउँपालिका–४ का ४० परिवारलाई पनि पहिरोको जोखिमका कारण सुरक्षित स्थानमा सारिएको छ । विस्थापित परिवारका लागि प्रदेश सरकारले टेन्टको व्यवस्था गरेको छ ।
वर्षाका कारण सुदूरपश्चिमका विभिन्न सडक तथा राजमार्गमा पहिरो खसेर यातायातसमेत प्रभावित भएको छ । बैतडी, डडेल्धुरा र दार्चुलाका विभिन्न स्थानमा पहिरो खसेपछि महाकाली राजमार्ग अवरुद्ध भएको थियो । अधिकांश स्थानमा पहिरो हटाएर सडक सञ्चालनमा ल्याइएको प्रदेश प्रहरीले जनाएको छ ।
तर, जोखिम पूर्ण रूपमा नहटेकाले लामो दूरीका सवारीसाधन सञ्चालनमा आज पनि रोक लगाइएको छ । छोटो दूरीका सवारीसाधन भने सडकको अवस्था हेरेर र आवश्यक सतर्कता अपनाएर मात्रै सञ्चालन गर्न दिइएको एसएसपी विष्टले बताए ।
यस्तै, महाकाली नदीमा पानीको बहाव बढेपछि नेपाल–भारत सीमा जोड्ने बनबासा पुलमा चारपांग्रे सवारीसाधनको आवागमन अझै बन्द गरिएको छ । आइतबार महाकाली नदीमा पानीको बहाव १ लाख ७५ हजार क्युसेक मापन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पानीको बहाव उच्च रहेकाले बनबासा पुलमा चारपाङ्ग्रे सवारीसाधनको आवागमन बन्द नै रहेको कार्यालयले जनाएको छ ।
