कञ्चनपुर ।
बेदकोट नगरपालिका–८ बैतडामा रहेको सुदूरपश्चिम नमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक साधारण सभा तथा उद्घाटन समारोह सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष नरेन्द्रबहादुर चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का सांसद तथा कृषि, भूमि व्यवस्था तथा सहकारी विभागका प्रमुख ज्ञानेन्द्र सिंह महता प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा सहकारीका पदाधिकारी, शेयर सदस्य तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
सभामा संस्थाको वार्षिक प्रगति विवरण, आर्थिक अवस्था, सहकारीमार्फत सञ्चालन भइरहेका कृषि तथा स्थानीय आर्थिक गतिविधि र आगामी कार्ययोजनाका विषयमा छलफल तथा समीक्षा गरिएको थियो।
कार्यक्रममा बोल्दै सांसद महताले सहकारीलाई सदस्यकेन्द्रित बनाउँदै संस्थागत विकास, सदस्यहरूको आर्थिक सशक्तीकरण तथा स्थानीय उत्पादनको प्रवर्द्धनलाई प्राथमिकतामा राख्नुपर्ने बताए। उनले कृषि, उद्यम तथा आयआर्जनका क्षेत्रमा सहकारीले थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
सहकारीका अध्यक्ष नरेन्द्रबहादुर चन्दले संस्थालाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउँदै सदस्यहरूको आर्थिक तथा सामाजिक हितमा केन्द्रित भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
संस्थामा हाल सम्म २ सय ५४ जना सदस्यहरू आबद्ध रहेका छन् ।
२०७८ साउन १० गते स्थापना भएको सुदूरपश्चिम नमुना बहुउद्देश्यीय सहकारी संस्थाले स्थानीयस्तरमा कृषि, उद्यमशीलता तथा आर्थिक गतिविधि प्रवर्द्धनमा काम गर्दै आएको जनाएको छ।
