दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा यही कात्तिक १७ देखि १९ गतेसम्म ‘अपि हिमाल पर्यटन उत्सव’ हुने भएको छ।
गाउँपालिकाले पर्यटन प्रवद्र्धन, स्थानीय रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन पर्यटन उत्सव आयोजना गर्न लागेको हो।
अपि हिमाल क्षेत्रलाई सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजना अनुसार १० हजार पर्यटन भित्र्याउने लक्ष्यसहित पर्यटन उत्सव आयोजना हुन लागेको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताए।
अध्यक्ष बोहराका अनुसार उत्सवलाई प्रदेशस्तरीय बृहत् कार्यक्रमका रूपमा आयोजना गर्न लागिएको छ। ‘अपिहिमाल क्षेत्रलाई सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय केन्द्र बनाउने लक्ष्यसहित तीन दिनसम्म विभिन्न रचनात्मक तथा आकर्षक कार्यक्रम सञ्चालन गरिनेछन्,’ उनले भने।
उत्सवको पहिलो दिन प्रदेश तथा राष्ट्रियस्तरका ख्यातिप्राप्त साहित्यकार, स्थानीय तथा राष्ट्रिय कलाकारहरूको उपस्थितिमा सांस्कृतिक कार्यक्रम र साहित्यिक गोष्ठी आयोजना गरिनेछ।
दोस्रो दिन प्रदेशस्तरीय मैत्रीपूर्ण क्रिकेट तथा भलिबल प्रतियोगिता सञ्चालन हुनेछ। यसको मुख्य आकर्षण अपि हिमालको आधार शिविरमै आयोजना गरिने क्रिकेट खेल रहने उनको भनाइ छ।
यसले उच्च हिमाली क्षेत्रमा खेलकुद प्रवद्र्धनमा नयाँ आयाम थप्ने उनको विश्वास छ।अपिहिमाल क्षेत्रलाई ‘वेलनेस टुरिजम’को केन्द्रका रूपमा विकास गर्न तेस्रो दिन योग तथा ध्यान शिविर सञ्चालन गरिने उनले बताए।
उत्सवको अन्तिम दिन जलवायु परिवर्तनमा केन्द्रित ‘ विशेष जलवायु संवाद’ आयोजना गरिनेछ। आगामी नोभेम्बरमा हुने अन्तर्राष्ट्रिय जलवायु सम्मेलनको पूर्वसन्ध्यामा आयोजना हुन लागेको संवादमार्फत जलवायु परिवर्तनले नेपालको उच्च हिमाली क्षेत्रमा पारेको गम्भीर प्रभावबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर बिष्टले बताए।
गाउँपालिकाले प्रदेशस्तरीय पर्यटन उत्सवमा सहभागी भएर पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउन सबैलाई आह्वान गरेको प्रमुख प्रशासकीय अधिकृत बिष्टले बताए । उनका अनुसार पर्यटन उत्सव कार्यक्रमको प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री बालेन्द्र शाहलाई निम्तो पठाइएको छ।
यस्तै विशिष्ट अतिथिमा पर्यटनमन्त्री खड्गराज पौडेल, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई निम्तो गरिएको उनको भनाइ छ। यस्तै सातै प्रदेशका पर्यटनमन्त्रीलाई पनि अतिथिका रुपमा आमन्त्रण गरिएको छ।
प्रधानमन्त्री शाह पर्यटन उत्सवमा सहभागी हुने नहुने टुंगो भने लागिसकेको छैन। प्रधानमन्त्री शाहले गत असारमा आफ्नो फेसबुक पेजमा राखेको अपि हिमाल आधार शिविरमा क्रकेट खेलिरहेको भिडियो भाइरल भएको थियो। गाउँपालिकाले सही ठाउँमा अहिले पर्यटन उत्सव आयोजना गरेको छ।
