लेकममा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई घरदैलोमै सामाजिक सुरक्षा भत्ता

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाले सामान्य हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलालाई लक्षित गरी सामाजिक सुरक्षा भत्ता वितरण शिविर सञ्चालन गर्ने भएको छ।

गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको आयोजनामा चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो किस्ताको सामाजिक सुरक्षा भत्ता वितरणका लागि कात्तिक १२ गतेदेखि शिविर सञ्चालन हुन लागेको हो।

गाउँपालिकाको स्वीकृत वार्षिक नीति तथा कार्यक्रमअनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको गाउँपालिकाका एमआईएस अपरेटर प्रकाश राज विष्टले जानकारी दिए ।

विष्टका अनुसार कात्तिक १२ गते वडा नम्बर ६ को कार्यालय उचाकोटमा शिविर सञ्चालन हुनेछ। त्यस्तै, कात्तिक १३ गते वडा नम्बर १ को कार्यालय सर्मोलीमा, कात्तिक १६ गते वडा नम्बर २ को कार्यालय कुणीमा, कात्तिक १७ गते वडा नम्बर ३ को कार्यालय लालीमा र कात्तिक १८ गते वडा नम्बर ४ को कार्यालय खरकडामा शिविर सञ्चालन गरिनेछ। शिविर प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ।

सामाजिक सुरक्षा भत्ता बुझ्न आउँदा लाभग्राहीले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र लक्ष्मी सनराइज बैंकले उपलब्ध गराएको चेकबुक अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने विष्टले बताए।

यसैबीच, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने दलित बालबालिकाको हकमा बढेको भत्तासम्बन्धी मन्त्रालयको आधिकारिक निर्णय प्राप्त नभएकाले हाललाई उक्त रकम जम्मा नगरिएको गाउँपालिकाले जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.