दार्चुला । मालिकार्जुन गाउँपालिका–४, हुनैनाथमा वडा स्तरीय बाल कचहरी कार्यक्रम सम्पन्न भएको छ। बिहीबार आयोजित कार्यक्रममा बालबालिकाका समस्या, आवश्यकता तथा सवालहरू सुन्नुका साथै तिनको समाधानका लागि सरोकारवालासँग छलफल गरिएको हो।
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, सामुदायिक ग्रामीण विकास समाज नेपालको सहजीकरण तथा मालिकार्जुन गाउँपालिकाको समन्वयमा कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा मालिकार्जुन गाउँपालिका–४ मा रहेका विभिन्न पाँच विद्यालयका बालबालिकाको सहभागिता रहेको थियो। जसमा खान माध्यमिक विद्यालय ऐरिछाना, हुनैनाथ माध्यमिक विद्यालय चन्दनपुर, बालिचन आधारभूत विद्यालय चडेखान, हुनैनाथ आधारभूत विद्यालय बेलुकोट र जनज्योति आधारभूत विद्यालय देवधुराका विद्यार्थी सहभागी भएका थिए।
बाल कचहरीमार्फत बालबालिकाले आफ्ना समस्या तथा सवालहरू प्रत्यक्ष रूपमा राख्ने र तिनको समाधानका लागि सम्बन्धित सरोकारवालासँग छलफल गर्ने अवसर पाएका थिए।