सीआरडीएस नेपालको ३३औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न

दार्चुला । सामुदायिक ग्रामीण विकास समाज नेपाल (सीआरडीएस नेपाल) को ३३औँ वार्षिक साधारण सभा तथा विभिन्न परियोजनाहरूको सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

वि.सं. २०४९ सालमा स्थापना भएको संस्थाले खलंगास्थित भावना सभा हलमा वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण कार्यक्रम आयोजना गरेको हो । संस्थाका कार्यसमिति सचिव प्रेम चुनाराको अध्यक्षता तथा जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडु कश्यपको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक अशोक राज ओझाले स्वागत मन्तव्य राख्दै तीन दशकभन्दा लामो समयदेखि दार्चुलाका दुर्गम बस्ती तथा सीमान्तकृत समुदायको जीवनस्तर उकास्न संस्थाले पुर्‍याउँदै आएको योगदानबारे जानकारी गराउनुभयो ।

कार्यक्रम अधिकृत मान सिंह कार्कीले सञ्चालन गर्नुभएको कार्यक्रममा परियोजना अधिकृत उदय बोहराले संस्थाका समग्र गतिविधि तथा सञ्चालित परियोजनाहरूको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, लेखा अधिकृत मोहित सिलालले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साधारण सभाकै अवसरमा संस्थाद्वारा सञ्चालित विभिन्न परियोजनाहरूको सामाजिक लेखापरीक्षणसमेत गरिएको थियो । सामाजिक लेखापरीक्षणका क्रममा स्थानीय सरकार, सरोकारवाला निकाय, पत्रकार तथा परियोजनाका लक्षित वर्गका प्रतिनिधिहरूबाट कार्यक्रमको प्रभावकारिता, पारदर्शिता र आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा सुझाव संकलन गरिएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मालिकार्जुन गाउँपालिकाका अध्यक्ष हिरा सिंह धामी, दुहुँ गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल, उपाध्यक्ष शान्ति बम, कल्याण सिंह धामी तथा महाकाली नगरपालिका–९ का वडाध्यक्ष गजेन्द्र सिंह कार्कीको उपस्थिति रहेको थियो ।

त्यसैगरी, महाकाली नगरपालिका र मालिकार्जुन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख जयराज पन्त, सामाजिक विकास कार्यालय दार्चुलाका प्रमुख, स्वास्थ्य कार्यालय तथा भेटेरिनरी अस्पताल एवं पशु सेवा विज्ञ केन्द्रका प्रतिनिधिहरूको सहभागिता थियो ।

नेपाल पत्रकार महासंघ दार्चुला शाखा, साझेदार संस्था गुड नेवर्स इन्टरनेशनल नेपालका प्रतिनिधि, विभिन्न सहकारी संस्था, लक्षित समूह तथा संस्थाका कर्मचारीहरूको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष प्रकाश चन्द्र मिश्रको तर्फबाट प्राप्त विशेष शुभकामना सन्देश वाचन गरिएको थियो । सन्देशमा वि.सं. २०४९ देखि सुरु भएको संस्थाको ३३ वर्षे यात्रामा साथ दिने संस्थापक, पूर्व नेतृत्व, कर्मचारी, साझेदार संस्था तथा स्थानीय समुदायप्रति आभार व्यक्त गरिएको थियो । साथै, आगामी दिनमा संस्थालाई अझ पारदर्शी, प्रविधिमैत्री र जनमुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

सहभागी अतिथि तथा सरोकारवालाहरूले सीआरडीएस नेपालले कृषि, जीविकोपार्जन, शिक्षा, स्वास्थ्य, खानेपानी, सुशासन तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरेका थिए । उनीहरूले संस्थाका कार्यक्रमलाई थप प्रभावकारी बनाउन स्थानीय तहसँगको समन्वय र सहकार्यलाई अझ मजबुत बनाउँदै लैजान सुझाव दिएका थिए ।

Leave A Reply

Your email address will not be published.