सुदूरपश्चिम रोयल्सको ट्रफी टूर आजदेखि, नौ जिल्लामा उपाधि उत्सव

नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता सुदूरपश्चिम रोयल्सको ट्रफी टूर आजदेखि सुरु हुँदैछ। प्रदेशका नौवटै जिल्लामा उपाधि ट्रफी पुर्‍याउने उद्देश्यसहित रोयल्सले आजदेखि २० गतेसम्म ट्रफी टूर आयोजना गर्न लागेको हो।

ट्रफी टूरमार्फत उपाधि जितको खुसी समर्थक, स्थानीय समुदाय र क्रिकेटप्रेमीसँग साटासाट गर्ने रोयल्सको योजना छ। ट्रफी टूरको पहिलो दिन आज अछाम र बाजुरामा कार्यक्रम हुनेछ। बिहान ८ः३० बजे अछामको बैजनाथ मन्दिरमा ट्रफी प्रदर्शन गरिनेछ। त्यसपछि बिहान ९ः३० देखि ११ः३० बजेसम्म बैजनाथ मन्दिरदेखि साँफेबगरसम्म र्‍याली निकालिनेछ।

दिउँसो ४ देखि ५ बजेसम्म बाजुराको मार्तडीमा र्‍याली आयोजना हुनेछ। मंसिर १४ गते डोटी र डडेल्धुरा, १५ गते बैतडी र १६ गते दार्चुलामा ट्रफी टूर सञ्चालन हुनेछ। डोटीमा शैलेश्वरी मन्दिरबाट दिपायल बजारसम्म र्‍याली निकालिनेछ भने डडेल्धुरा बजारमा र्‍यालीसँगै उग्रतारा मन्दिरमा पूजा गर्ने कार्यक्रम छ। बैतडीमा निङ्गलाशैनी मन्दिर र गोठलापानी तथा दार्चुलामा मालिकार्जुन मन्दिर र खलंगा बजारमा ट्रफी पुर्‍याइनेछ।

मंसिर १७ गते बझाङको चैनपुर बजारमा र्‍याली निकालिनेछ भने १८ गते डडेल्धुराको परशुराम धाममा ट्रफी पुर्‍याइने कार्यक्रम छ। मंसिर १९ गते कैलाली र कञ्चनपुरमा विभिन्न कार्यक्रम हुनेछन्। कैलालीको टीकापुर पार्कबाट सुरु हुने कार्यक्रम चिसापानी, लम्की, घोडाघोडी ताल र अत्तरियासम्म पुग्नेछ। त्यसपछि कञ्चनपुरको महेन्द्रनगर बजारदेखि दोधारा चाँदनी पुलसम्म र्‍याली निकालिनेछ।

ट्रफी टूरको अन्तिम दिन मंसिर २० गते धनगढीमा र्‍याली आयोजना हुनेछ। दिउँसो ३ देखि ५ बजेसम्म धनगढी चौराहाबाट महोत्सव मैदानसम्म र्‍याली निकालिनेछ। साँझ ५ बजे महोत्सव मैदानमा सांगीतिक कार्यक्रमसहित ट्रफी टूर समापन गरिने सुदूरपश्चिम रोयल्सले जनाएको छ। एनपीएलको तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूरमार्फत प्रदेशभरका समर्थकलाई उपाधि उत्सवमा सहभागी गराउने लक्ष्य राखेको छ।

Leave A Reply

Your email address will not be published.