यथास्थितिमा एमसीसी पास हुन सक्दैन : नारायणकाजी श्रेष्ठ

दार्चुला । नेकपा माओवादी केन्द्रको प्रवास समन्वय कमिटीका इन्चार्ज नारायणकाजी श्रेष्ठले यथास्थितिमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुन नसक्ने स्पष्ट पार्नुभएको छ । बुधबार पार्टीको प्रवास कमिटीको भर्चुअल माध्यमबाट भएको पदभार हस्तान्तरण तथा नयाँ नेतृत्वलाई स्वागत कार्यक्रममा बोल्दै इन्चार्ज श्रेष्ठले यथास्थितिमा एमससीसी पास हुन नसक्ने स्पष्ट पार्नुभएको हो ।

देशको सार्वभौमिकतालाई दाउमा राखेर माओवादी केन्द्रले कुनै पनि सन्धि सम्झौता नगर्ने उहाँको भनाइ थियो । यस्तै इन्चार्ज श्रेष्ठले पाँच दलीय सत्ता गठबन्धनलाई तोड्न विभिन्न षड्यन्त्र भइरहेको बताउँदै त्यसप्रति सचेत रहन पनि नेता कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।

माओवादी केन्द्रले नै नेपाली कम्युनिस्ट आन्दोलनको एकीकरण र ध्रुवीकरण गर्ने बताउँदै श्रेष्ठले प्रवासमा रहेका लाखौँ नेपालीहरुलाई गोलबन्द गरेर नेपालमा पार्टी र संगठन विस्तार गर्न सकिने धारणा राख्नुभयो। जहाँ रहेपनि नेपालको परिवर्तन र पार्टीको पक्षमा महत्वपूर्ण भूमिका खेल्न पनि उहाँले आग्रह गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.