हत्या आरोपमा एकजना पक्राउ

दार्चुला । हत्याको आरोपमा बैतडीमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको दोगडाकेदार गाउँपालिका २ मल्लागाउँकी ५५ वर्षीया नारु महरा पक्राउ परेको जिल्ला प्रहरी कार्यलय बैतडीले जनाएको छ।

नारुलाई उनकी सौता ४० वर्षीया चन्द्रा महराको हत्याको आशंकामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । चन्द्राका माइती पक्षले दिएको जाहेरीका आधारमा नारुलाई नियन्त्रणमा लिइएको हो।

निरीक्षक शाहीले भने, पक्राउ परेकी नारुले हत्या स्वीकार गरिसकेकी छन्, म्याद थप गरेर अनुसन्धान गर्दैछौं।चन्द्रा माघ १८ गते घर नजिकैको खाली घरमा मृत फेला परेकी थिइन्। उनको घाँटी र मुखमा चोट थिए।

नारुले घटना हुनुअघि पनि चन्द्रालाई कुटपिट गर्ने गरेकी अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। उनका पतिको यसअघि नै मृत्यु भइसकेको छ। नारुका कुनै सन्तान छैनन् भने मृतक चन्द्राका एक छोरा र एक छोरी रहेका छन्।

Leave A Reply

Your email address will not be published.