दार्चुला – विक्रम संवत २०७८ लाई बिदाइ गर्दै नया वर्ष २०७९ लाई दार्चुला लगायत सुदुरपश्चिममा धुमधामका साथ स्वागत गरिदै छ ।
विक्रम सम्वत् पात्रो अनुसार सौर्यमानक हिसाबले बैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ । एक आपसमा शुभकामना आदानप्रदान, भेटघाट र रमाइलो गरेर नया वर्ष २०७९ लाई स्वागत गरिंदैछ । विक्रम संवतलाई आधार मानी हरेक वर्षको वैशाख १ गतेलाई नेपालमा नया वर्षका रुपमा मनाइन्छ ।
नयाँ वर्ष प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा वर्ष वा सालको आरम्भ लाई भनिन्छ । नेपाल लगायतका विक्रम सम्बत मान्ने स्थानहरूमा बैशाख १ गतेका दिन भने इस्वी सम्बत मान्ने स्थानहरूमा जनवरी १ तारीखका दिन नयाँ वर्ष मनाइन्छ । सो दिनमा प्रचलित परम्परा अनुसार विभिन्न कार्यक्रमहरू आयोजन गरिन्छ । यस अवसरमा आपसमा सद्भावको आदान प्रदान गर्ने शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मीठामीठा परिकार खाएर हर्षोल्लासका साथ मनाउने गरिन्छ । यस दिन सार्वजनिक बिदा पनि हुन्छ । विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना गरिन्छ ।
नया वर्षमा विभिन्न नया काम सुरु गर्ने, एकआपसमा शुभकामना आदान गर्ने, वर्ष शुभ रहोस् भनी विभिन्न शक्तिपीठमा दर्शन गर्न जाने प्रचलन रहेको शैल्यशिखर नगरपालिका ८ का सस्कृतीका जानकार अम्बा दत्त जोशीले बताउनुभयो ।
विक्रम सम्बत हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो हो। यो पात्रो नेपाल, भारत जस्ता देशहरूमा चलनचल्तीमा रहेको छ। यो नेपालमा औपचारिक कामकाजको पात्रो हो । यो प्राचीन हिन्दु परम्परा र वैदिक समयाङ्कनमा आधारित सौर्य पात्रो हो । यो ग्रेगोरियन पात्रो अङ्ग्रेजी पात्रो भन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडि छ । यस पात्रो अनुसार वर्षको आरम्भ नेपालमा बैशाख महिनाको पहिलो दिनबाट हुन्छ भने भारतमा चैत्र महिनाको पहिलो दिन । विक्रम सम्वत् सूर्यसँग सम्बन्धित भएकाले विक्रम सम्वत् लाई सौर्य पात्रोमा आधारित पात्रो भनिएको हो । यस सम्वत् सूर्य सँग सम्बन्धित भएकाले यस पात्रोमा सूर्य ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन् । राजा विक्रमादित्यले आरम्भ गरेको विक्रम सम्वत्को नेपालमा आधिकारिक रूपमा चन्द्र शमशेरको कार्यकाल देखि प्रचलनमा आएको हो ।