दार्चुला । एमाले सुदूरपश्चिमको इन्चार्जको विषयमा उपाध्यक्ष भीमबहादुर रावल र पूर्वमन्त्री लेखराज भट्टबीच विवाद रहेको छ। दुबै नेता अहिले गृह प्रदेश सुदूरपश्चिममा आएका छन्।
भीम रावल आज धनगढी पुगेका हुन् भने सोमबारदेखि कैलालीमा रहेका भट्ट आज कञ्चनपुर गएका छन्। एमाले उपाध्यक्ष रावलले अहिले धनगढीमा कार्यकर्ता भेलालाई सम्बोधन गरिरहेका छन्।
उनले १० बुँदे कार्यान्वयनबाट कसैले पनि पन्छिन नहुने बताउँदै नेकपा एमाले एकतावद्ध भएर अगाडि बढ्ने दाबी गर्नुभयो। ‘१० बुँदे कार्यान्वयन गर्नु सबै नेता–कार्यकर्ताको कर्तव्य हो,’ उहाले भने।
उता पूर्वमन्त्री तथा एमाले नेता भट्ट भने सुख्खा बन्दरगाहको अनुगमनका लागि आज कञ्चनपुरको दोधाराचाँदनी पुगेका छन्। त्यहाँ प्रेस चौतारीले पत्रकार सम्मेलनको समेत आयोजना गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमको इन्चार्ज घोषणा गरेपछि भट्ट पार्टीलाई गतिशिल बनाउने भन्दै सुदूरपश्चिम आएका हुन्। कैलाली पुगेका भट्टले गृह क्षेत्र गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाका जनप्रतिनिधीसंग भेट गरिसकेका छन्।
भोलि कैलालीको गेटामा निर्माणधिन मेडिकल कलेजको बारेमा हुने छलफलमा भट्ट उपस्थित हुने कार्यक्रम रहेको छ। रावल र भट्टबीच भेटवार्ता हुने कुनै कार्यक्रम अहिले सम्म तय नभएको एमाले नेताहरुले बताउनुभयो ।