सुदूरपश्चिम प्रदेश सभा सभामुख चयन अन्योलमा

दार्चुला । सुदूरपश्चिम प्रदेश सभामा हिजो शनिवार पनि सभामुख चयन हुन सकेन । सभामुख चयनका लागि बिहीवार भएको मतदानमा कुनै पनि उम्मेदवारले आवश्यक मत ल्याउन नसकेपछि हिजो फेरि मतदान भएको हो ।

हिजोको मतदानमा सत्ता गठबन्धनका उम्मेदवार भीमबहादुर भण्डारीको पक्षमा २२ मतमात्र परेपछि सभामुख चयनसम्बन्धी प्रस्ताव अस्वीकृत भएको हो । सत्ता गठबन्धनको निर्णायक घटक नागरिक उन्मुक्तिका ७ जना सांसदहरु तटस्थ बसेपछि भण्डारीको पक्षमा बहुमत जुट्न नसकेको हो । ५३ सदस्यीय सुदूरपश्चिममा सभामुख निर्वाचित हुन २७ सांसद आवश्यक पर्छ ।

सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन् । सभामुखको लागि विपक्षी गठबन्धनका तर्फबाट कांग्रेसका मानबहादुर रावल उम्मेदवार हुनुहुन्छ । उहाँले पहिलो दिन बिहीवार भएको मतदानमा २३ मत पाउनुभएको थियो भने हिजो भएको भएको मतदानमा २२ मत पाउनुभयो ।

सत्ता गठबन्धनबीच सुदूरपश्चिममा एमालेलाई मुख्यमन्त्री, माओवादी केन्द्रलाई सभामुख, नागरिक उन्मुक्तिलाई उपसभामुख दिने सहमति भएको छ । तर मुख्यमन्त्री नियुक्त गर्न सघाएको नागरिक उन्मुक्ति पार्टी सभामुख चयनमा भने तटस्थ बसेको छ । प्रदेश सभाको अर्को बैठक भोलि बोलाइएको छ ।

Leave A Reply

Your email address will not be published.