पाकिस्तानको पेशावर शहरस्थित एक मस्जिदमा भएको आत्मघाती बम बिस्फोटमा मृत्यु हुनेको संख्या पाँच दर्जन माथि पुगेको छ ।
अहिलेसम्म ६३ जनाको मृत्यु भएको पुष्टि भईसकेको छ भने अस्पताल भर्ना गरिएका डेढ सय घाइतेमा केही गम्भीर अवस्थामा रहेकाले मृतक संख्या अझै बढ्नसक्ने जनाइएको छ । मृतकहरुमा अधिकांश प्रहरी तथा सैनिक सुरक्षाकर्मीहरु रहेको बताइएको छ ।
पेशावर शहरको प्रहरी मुख्यालय नजिक रहेको मस्जिदमा प्रहरीलाई लक्षित गरि बम आक्रमण गरिएको थियो । मस्जिदमा प्रार्थनाका क्रममा अग्रपंक्तिमा रहेकाहरुको सुरक्षार्थ खटिएका प्रहरीलाई लक्षित गरी आत्मघाती बिस्फोट गराइएको थियो । बिष्फोटबाट मस्जिदको अग्र भाग समेत पुर्ण रुपमा ध्वस्त भएको छ ।
पाकिस्तानमा सक्रिय तालिवान समूहले बिष्फोटको जिम्मा लिएको छ । तहरिक–ए–तालिवान–पाकिस्तानले बिष्फोटको जिम्मा लिएको हो ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले घटनाको भर्त्सना गर्दै यसमा संलग्नलाई कडा भन्दा कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
मस्जिदमा प्रार्थना गर्नेहरुका लागि तीन सय जना प्रहरीको चार लेनको सुरक्षा घेरा तोड्दै आत्मघाती आक्रमणकारी पहिलो पंक्तिमा पुगेको बताइएको छ ।
