दार्चुला । दार्चुला जिल्लाकाे मालिकार्जुन गाउँपालिका वडा नं.-३ मडमा मालिकार्जुन स्वामी बिराजमान हुनु हुन्छ । मालिकार्जुनकाे बारेमा चित्रण गर्दैगर्दा मालिकार्जुन काे हुन र मालिकार्जुन नाम कसरी रहन गयाे भन्ने जिज्ञासा पाठकलाई हुनु स्वभाविक नै हाे । पाठककाे जिज्ञासालाई ध्यानमा राखी मालिकार्जुन नाम कसरी रहन गयाे भन्ने कुरा याे लेखमा समेट्नु सान्दर्भिक हाेला जस्ताे लाग्छ ।
स्कन्द पुराणमा अर्जुन पर्वतकाे बारेमा उल्लेख गरिएकाे पाइन्छ । हालकाे महाकाली नगरपालिकाअन्तर्गत दत्तु र धापकाे टुप्पाे, मालिकार्जुन गाउँपालिका अन्तर्गत मडकाे टुप्पाे र शैल्य शिखर नगरपालिका अन्तर्गत ग्वानीकाे चुचुराे (टुप्पाे) शिखर रहेकाे करिब १२/१५ कि.मी. काे दुरीमा फैलिएकाे लामाे नागबेली अाकारका बलशिखर, न्वालपानी, माैतामाैती समेतका शिखरहरुकाे मिश्रित रुप नै पाैराणिक अर्जुन पर्वत हाे । यस्ता पाैराणिक घटना र हालकाे अवस्थितिले पाैराणिककालमा यस क्षेत्रमा मानव बसाेबास क्षेत्र रहेकाे र ऋषिमुनिहरुकाे तपाेभूमि र देवताहरुकाे निवास स्थलकाे रुपमा देवभूमि रहेछ भन्ने कुरा स्पष्ट हुन्छ । भगवान शिव मालिकार्जुन अवतारकाे रुपमा यस क्षेत्रमा बिराजमान रहेकाे कुरा स्कन्द पुराण मानसखण्डले पनि पुष्टि गरेकाे छ । यस पर्वतमा शिवरुपी अर्जुनले बास गरेकाेले यस पर्वतलाई अर्जुन पर्वत भनियाे । यसै पर्वतमा पार्वतीरुप मालिकादेवीकाे समेत बास भएकाेले अर्जुन र मालिकाकाे याेगले यस क्षेत्रलाई मालिकार्जुन भनिएकाे हाे ।
मालिकार्जुन मन्दिरकाे बारेमा वर्णन गर्दैगर्दा पूर्णागिरी माता मन्दिरकाे झझल्काे अाइरहेकाे छ ।
पूर्णागिरी माताकाे दर्शन गर्न जाँदा जति उचाइ चढ्नु पर्छ, सायद मडबाट अर्जुन पर्वत (शैल्यशिखर पर्वत धुरा) पुग्न पनि उति नै दुरी र समय लाग्छ हाेला । मडमा अवस्थित मालिकार्जुन मन्दिरबाट करिब दुई अढाई घण्टाकाे पैदल यात्राकाे उचाइ पार गरेपछि शैल्य शिखर धाम शिखर धुरामा पुगिन्छ । तथापि मैले भने शैल्य शिखर धाम शिखर धुराकाे दर्शन गर्ने अवसर जुराउन सकेकाे छैन । द्वितीय ज्योतिर्लिङ्ग मालिकार्जुनको मूल स्थापना दक्षिण भारतको आन्ध्र प्रदेश राज्यको श्री शैल भन्ने ठाउँमा भएको शिव पुराणबाट पुष्टि भएको पाइन्छ । त्यहाँबाट सौराष्ट्र प्रदेश हुँदै कत्युर, गढवाल, कुमाऊँ हुँदै दार्चुलातिर आएको मालिकार्जुन भक्ति गाथामा वर्णन गरिएकाे छ । भारतमा भइरहेको धार्मिक हिंसाका वेला भारतका विभिन्न ठाउँबाट धर्म रक्षाका निम्ति त्यँहाका हिन्दुहरू एक ठाउँवाट अर्को ठाउँमा स्थानान्तरण हुँदै गए ।
स्थानान्तरण हुँदै जाने क्रममा भारतका विभिन्न ठाउँबाट भारतीय हिन्दुहरू आफ्नो इष्टकुलसहित नेपाल प्रवेश गरेको तथ्य मालिकार्जुनकाे भक्ति गाथाहरुबाट स्पष्ट हुन्छ । धर्म रक्षा र जीवन रक्षाका क्रममा श्री शैल्य मालिकार्जुन शिवलिंग र शालीग्रामका साथ भारतका विभिन्न ठाउँ हुँदै अभयराज पाण्डेय, निमनाथ योगी, भिमराज भट्ट, धाराधिरा पहलवान र सुरदास औजी दार्चुलाको हालकाे लेकम गाउँपालिकाअन्तर्गत रिठाचौपाता आई रिठा भन्ने ठाउँमा बास बसेको श्रुति छ । त्यही शिवलिंग स्थापित गरी अभयराज पाण्डेयले मालिकार्जुनको पुजन गरेको भन्ने मालिकार्जुनकाे झाेडाेमा उल्लेख छ ।
श्री शैल्य मालिकार्जुन हिमालय एवं पर्वतीय रमणीय स्थलहरू खोजी गर्दै हिड्ने क्रममा दुँहुको हुतीमा समेत बास बसेको मालिकार्जुनकाे भक्ति गाथाहरुमा उल्लेख गरिएकाे छ । श्री मालिकार्जुन ज्योर्तिलिंगकाे स्थायी बासस्थान खोज्दै जाने क्रममा मालिकार्जुन श्री शैल्य शिखर पर्वतमा आई बस्नुभएको हो भन्ने कुरा मालिकार्जुनको झोडो स्तुतिगानमा उल्लेख भएको पाइन्छ । मालिकार्जुनको धाम मालिकार्जुन गाउँपालिका र शैल्यसशिखर नगरपालिकाकाे वडा नम्बर -६ ग्वानीको बिच माथि शिखरधुरामा पर्दछ । आराध्यदेव श्री मालिकार्जुन देवता बासस्थानको खोजीमा रिठाबाट हिडेपछि उता अभयराज पाण्डेय रिठामै बसी मालिकार्जुनको ज्योर्तिलिंग खोज्दै थिए । उनका अन्य साथीहरू प्रभुको ज्योर्तिलिगंको खोजीका क्रममा विभिन्न ठाउँहरूमा घुम्दै गए । तर, कहीं कतै पनि आफ्ना इष्टदेव मालिकार्जुनको ज्योर्तिलिगं नभेट्टाएपछि उनीहरु भक्ति र शोकमा व्याकुल भए । यसरी इष्टदेव मालिकार्जुनको भक्ति भावमा विलीन भएका अभयराज पाण्डेयलाई महाराज मालिकार्जुनले राति सपनामा दर्शन दिई आफू मालिकार्जुनको शैल्य शिखरमा डेरा जमाइ बसेको बताए । भगवानले सपनामा अभयराज पाण्डेयलाई भनेछन्, तिमी भक्त एक्लै यहाँ पुग्न सक्दैनौ, म तिम्रो घरमा बाघ पठाउने छु र त्यो बाघको दायाँ खुट्टामा निङालाको सुरा हुनेछ, तिमी नडराउनु र त्यो सुरा बाघको खुट्टाबाट निकाल्नु अनि त्यसपछि बाघ आफ्नो बाटो लाग्ने छ र तिमी पनि बाघकै पछि–पछि आउदै गर्नू । बाघले तिमीलाई म कहाँ पु-याउने छ ।’
त्यसपछि अभयराज पाण्डेको निन्द्रा खुल्छ, र ब्युँझी हेर्दा बाहिर उज्यालो भएको देखिन्छ । सपनीमा भने जस्तै वहाँको अगाडि प्रभुले खुट्टामा निङालाको सुरा भएको बाघ पठाइदिन्छन् । बाघलाई देखेपछि अभयराजले बाघको खुट्टाको निङालाको सुरा निकाली दिनुभयो । अनि बाघ सरासर आफ्नो बाटोतर्फ लाग्छ र अभयराज पाण्डेय पनि बाघकै पछि पछि लाग्छन् । बाघले उनलाई शिखर पर्वतको शिलामा पु-याउँछ । त्यहाँ पुग्दा अभयराजले साच्चीकै शिवलिंग भेटाउँछन् । अभयराजले खुसीको आँसु झार्दै महाराजप्रति भक्ति भाव प्रकट गर्छन र त्यतिनै बेला अभयराजले अाकाशवाणी सुन्छन् । महाराज मालिकार्जुनले अभयराजलाई भने, “हे भक्त मेरो स्थायी वसोवास अबदेखि यहीं नै हुनेछ, अबदेखि तिमी यहीं आएर मेरो पुजन र दर्शन गर्न सक्छौ ।’ अरु भक्तहरूलाई पनि यहीं आउन भनिदिनू” भन्दै आकाशवाणी बन्द हुन्छ ।
यसरी शिखरबाट घर फर्केका अभयराजले श्री शैल्य मालिकार्जुनको ज्योर्तिलिंग खोज्दै हिडेका अन्य भक्तहरू भिमराज भट्ट, निमनाथयोगी, सुरदास औजी र धिराधारालाई खवर गर्न गाउँ गाउँ मान्छे पठाएछन् र शिवलिंग शिखर पर्वतमा विराजमान भएको र त्यहीं पुजापाठ गर्नुपर्ने सन्देश दिन्छन् ।
साँच्चिकै शिखर पर्वतमा रहेको शिलाभित्रको अदृश्य गुफामा यस्तो महान एंव अद्वैत शक्ति छ, जसको बयान गर्न प्रयाप्त शब्दहरू नै छैनन् । मसंग भक्तिभाव र सर्मपण छैन, त्याग, तपस्या र साधना पनि छैन् । यसरी मैले अाफ्नाे त्याग, तपस्या र संकल्प बिना मालिकार्जुन स्वामीकाे बारेमा प्रशंसा गर्दा मालिकार्जुन स्वामीकाे अपमान गरेकाे ठहरिने छ । महाराज मालिकार्जुन विराजमान हुनुभएको शिखर पर्वतमा पौराणिक कालदेखि हरेक वर्ष आषाढ शुक्ल चतुर्दशी र कार्तिक शुक्ल त्रयोदशीका दिन विधि अनुसार पूजा अर्थात पुजन, दर्शन गर्ने गरिन्छ । महिना दिन अगाडिदेखि नुहाइ धाेई चाेखाे बसी विशिष्ट खालको नीतिनियम र विधि पार गर्दै पुगिने यो श्री शैल्य शिखर पुजन र दर्शन गर्नाले विघ्न वाधा हट्ने, शत्रु नास हुने, मनमा शान्ति मिल्ने, दरिद्रता नास हुने, मान-सम्मानका साथै मुक्ति प्राप्त हुने जनविश्वास रहेकाे छ । म पनि माथि उल्लिखित कुराहरुमा शतप्रतिशत विश्वस्त छु ।
मालिकार्जुन स्वामीकाे बारेमा पाठकलाई थप जिज्ञासा भएमा यस पछिकाे लेखमा उल्लेख गर्ने नै छु ।
जय मालिकार्जुन स्वामी !!!
श्राेत सामाग्री :
काशीदत्त भट्ट (२०४३) मालिकार्जुन भक्तिखण्ड काव्य हरिद्धार : फैन्डस प्रिन्टिङ प्रेस ।
इश्वरदत्त बडु (२०७१) दुहूँ क्षेत्रमा प्रचलित पौराणिक लोकगाथाहरूको अध्ययन स्नातक शोधपत्र ने.स. वि.वि. शारदा विद्यापीठ महेन्द्रनगर कञ्चनपुर ।
दयाकृष्ण पन्त (२०६७) दार्चुलाको इतिहास महेन्द्रनगर ।
धामी, राजेन्द्र, दामाेदर (२०७८), अाराध्यदेव हुनैनाथकाे महिमा तथा अाैल्लेकी धामीहरुकाे वंशावली । गाेकुलेश्वर, दार्चुला ।
मान सिंह धामी
उप-प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस, धनगढी