दार्चुला । कैलालीको गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै भइरहेको आन्दोलन चर्किन थालेको छ । यस अघि सरकारविरुद्ध शालीन आन्दोलन गर्दै आइरहेको संघर्ष समितिले अब भने माग पुरा गराउन आम हड्ताल गर्ने भएको छ ।
शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघर्ष समितिले जेठ २८ गते भोलि सुदूरपश्चिम प्रदेशभरि आम हड्तालको घोषणा गरेको हो ।
स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’ले आइतवार सुदूरपश्चिम पूर्ण रुपमा ठप्प हुने बताउनुभयो । उहाँले यातायात व्यवसायी, राजनीतिक दल, व्यापारीहरुले पनि सहयोग गर्ने बताएका छन्। संघर्ष समितिका संयोजक ‘आगो’ले आइतवार बिहान ८ देखि साँझ ६ बजेसम्म सुदूरपश्चिम प्रदेशका शैक्षिक, वित्तीयलगायतका संघरसंस्था तथा कलकारखाना, व्यापार र यातायात पूर्ण रुपमा बन्द गरिने बताउनुभयो।
संघर्ष समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै शालीन र अनुशासित ढंगले विरोधका कार्यक्रम गर्दा पनि माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै कडा आन्दोलन गर्न बाध्य भएको जानकारी गराएको हो ।
आम हड्ताल गर्दा पनि माग सुनुवाइ नभए थप संघर्षका कार्यक्रम घोषणा गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
