दार्चुला: दार्चुलाको लेकम क्षेत्रमा भदौ २१ गते गौरा मनाइने भएको छ । गौरा पर्व ७ गते हुनेकी २१ गते हुने दुविधा परेको बेला ज्योतिष जयानन्द जोशीले भाद्र २१ गते नै हुने भएकाले कसैले पनि दोधारमा नपर्न आग्रह गरेका छन् । मालिकार्जुन मन्दिर समितिको सहजीकरणमा दार्चुलास्थित मालिकार्जुन धाममा गत सोमबार भएको ज्योतिषहरुको भेलाले भदौ १८ गते बिरुडा पञ्चमी र भदौ २१ गते अठ्वाली अर्थात दुर्वाष्टमी मनाउने निष्कर्ष निकालेका थिए ।
गौरापर्व भदौ ७ कि २१ गते भन्ने दोधार भएको बेला मालिकार्जुन धाममा भएको ज्योतिषहरुको भेलाले भदौ २१ गते नै गौराको उपयुक्त तिथी भएको निष्कर्ष निकालेको सुदूरपश्चिम प्रदेश ज्योतिष परिषदका उपाध्यक्ष हरीदत्त जोशीले बताए।
उक्त भेलामा भदौ ७ र २१ गते दुवै दिनको पक्षमा ज्योतिषहरुले खुलेर बहस गरेका थिए । भेलामा डिल्लीराज जोशी लगायतका केही ज्योतिषहरुले नेपाल पञ्चाङ्ग निर्णायक समितिको निर्णय अनुसार भदौ ७ गते नै गौरा हुने तर्क राखेका भएपनि गौरा एकादशी ब्रत उपासना नगरिकनै दुबधागो लगाउने परम्परा नभएको भन्दै भदौ २१ गते नै उपयुक्त तिथी भएको निष्कर्ष निकालिएको उनले बताए ।
ज्योतिष हरीदत्त जोशीका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका ,महाकाली नगरपालिका,लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिका भित्र रहेका धार्मिक पिठहरुमा भाद्र २१ गते नै गौरा पर्व मनाउनु पर्ने बताए ।
उहाँले भन्नुभयो दुबधागो लगाउने मानस नारीहरुले गौरा एकादशी ब्रत लिएर मात्रै दुबधागो लगाउने परम्परा रही आएकोले शास्त्रीय मान्यता, परम्परा, लोकाचार र कुलाचार अनुसार भदौ १८ गते बिरुडा पञ्चमी, १९ गते नानी गोरा, भदौ २० गते अमुक्ताभरण सप्तमी र भदौ २१ गते अठ्यावाली अर्थात दुर्वाष्टमी परेकोले भाद्र २१ गते गौरापर्व मनाउन उपयुक्त तिथि रहेको जानकारी दिनुभयो ।
भाद्र शुक्ल पक्षमा दुर्वाष्टमी नपरेको समयमा रोहणी नक्षत्र भएको भाद्र कृष्णाष्टमीमा गौराको पूजन गर्नुपर्ने शास्त्रीय मान्यता रहेकाले भदौ २१ गते गौरा मनाउने निर्णय हो।
गौरापर्व भाद्र शुक्ल या कृष्ण पक्षमा मात्रै पर्ने भएकाले कुनै द्विविधा नराखी भाद्र २१ गते गौरा मनाउन आग्रह गरिएको छ ।
अहिले गौराका बिषयमा ज्योतिषहरु दुई भागमा विभक्त भएका छन् ।
यस्तै जिल्लाको दुहु गाउँपालिका भने भदौ ७ गते गौरा पर्व मनाउने निर्णय भएको छ । सुदूरपश्चिमका अधिकांश ज्योतिषहरुले भाद्र २१ गते नै गौराका लागि उपयुक्त तिथी मिति भएको आवाज उठाएपनि नेपाल पञ्चांग निर्णायक समितिले भने भदौ ७ गते नै गौराको तिथीमिति रहेको उल्लेख गरेको छ ।
यसैबीच सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वका लागि भदौ ७ र ८ गते बिदा समेत दिइसकेको छ।