दार्चुला- आज भदौ १ गते अर्थात् ओल्के पर्व सुदुरपस्चिममा आज ओल्के संक्रान्ति मनाइदै छ। सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलासहित प्रदेश भर धुमधाम संग यो पर्व मनाइने गरिन्छ।साउने झरी सकिएलगत्तै प्राकृतिक प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरपश्चिमका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन रहदै आएको छ। ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’लाई जनाउँछ। आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ।
विगतमा वर्षा याममा दादुरा, झाडापखाला, लुतो, हैजा जस्ता रोग लाग्ने भएकाले त्यस्ता रोगबाट बाँचिएको खुशी साट्न ओल्के त्यार मनाउँदै आएको बताइएको छ । साउन महिनाको समाप्ति भइ भाद्र महिना प्रारम्भ भएसंगै ओल्के पर्वको दिनदेखि सुदूरपश्चिमवासीको जनजीवनमा गौरा र तीज जस्ता पर्वको रमझम पनि सुरु हुने गरेको छ । पौराणिक किंबदन्ती अनुसार यस पर्वमा बूढी अर्थात राक्षसी पुतनालाई भगवान श्रीकृष्णले मारेपछि उहाँका साथीहरु ग्वालाहरु, ले पुतनाको शव दहन गरेको मान्यता अनुसार बूढी पोल्ने गरिन्छ ।
ओल्के पर्वलाई विभिन्न किसिमले मनाइने गरिए पनि यसको मूल सन्देश आपसी मित्रता र भाइचाराको गाँठो बलियो पार्नु रहेको छ । ओल्के पर्वको अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश भर सार्वजनिक बिदा समेत दिएको छ।