दार्चुलामा जंगली जनावरले मकैबाली सखाप पार्दै

दार्चुला – दार्चुलाका ग्रामीण भेगमा जंगली जनावरले किसानका मकै बाली सखाप पार्न थालेका छन् । मकैमा घोगो लाग्ने बेला जंगली जनावरहरुले सखाप पार्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । जिल्लाका अधिकांश ग्रामीण भेगमा वर्षेनी जंगली जनावरले मकैबाली नष्ट गर्ने गरेका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका–६ को ग्वानी, खातकडा, धौखानी, उदयपुर लगायत क्षेत्रका मकैबालीमा रातीको समयमा जंगली बदेल, भालु, दुम्सीले मकै खान थालेको स्थानीयहरुले बताएका छन् ।
वडा नम्बर ६ धौखानीका कल्याण धामीले दिउँसोको समयमा बाँदर र रातीको समयमा बदेल, भालु र दुम्सीले मकै खाने गरेको बताए । ‘मकैैमा घोगा लाग्ने बेला जंगली जनावरहरुले सखाप पार्दैछन्, राती पहरा दिदासमेत मकैबाली जोगाउन सकिएको छैन,’ उनले भने । यस्तै जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का मलबाव, सुङरखाली लगायतका क्षेत्रमा पनि जंगली जनावरले मकै खान थालेको छ । स्थानीय पदम साउँदका अनुसार राती राती जंगली बदेलले मकैबाली नष्ट गरिरहेको छ ।
यस्तै महाकाली नगरपालिका वडा नम्बर ६ को पौनेखोला, वडा नम्बर ८ को धौकोट, दोपखे र ९ दत्तु र थाप्लालगायत क्षेत्रमा पनि क्षति पु¥याएको किसानले बताएका छन् । यस्तै जिल्लाका अन्य क्षेत्रमा पनि जंगली जनावरले मकैबालीमा क्षति गर्ने गरेको छ । जिल्लामा आर्थिक वर्ष २०७९÷८० मा किसानहरुले ५ हजार ५ सय ३८ हेक्टर क्षेत्रफलमा मकै लगाएको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.