सुदूरपश्चिम प्रदेशका वन निर्देशक भट्टमाथि छानबिन सुरु

दार्चुला :-सुदूरपश्चिम प्रदेशका निमित्त वन निर्देशक कृष्ण दत्त भट्टमाथि छानबिन सुरु भएको छ। पछिल्लो डेढ वर्षदेखि निमित्तको जिम्मेवारीमा रहेका निर्देशक भट्टले पदको दुरुपयोग गर्दै अबैध रकम असुली गर्दै आएको एउटा भिडिओ बिहिवार सार्वजनिक भएको थियो ।

असुलीको विषयमा बोलेको भट्टको एक भिडियो नै सार्वजनिक भएपछि सो घुस तथा कमिसनको विषयमा सतहमा आएको हो। अहिले सो भिडिओ सामाजिक संजालमा भाइरल बनिरहेको छ। उक्त भिडियोमा निर्देशक भट्टले अछामबाट २० हजार, डोटीबाट ५० हजार, बझाङबाट २० हजार, कञ्चनपुरबाट ३० हजार, धनगढीबाट एक लाख रुपैयाँ उठाएको बताएका छन्।

यस्तै उनले भिडिओमा भनेका छन्, ‘उस्ले कति दियो मलाई २० दियो। कोले अछामले, बाजुराले दिएन। डोटीले ५० दियो। बझाङले २० दियो, दार्चुलाले दिएन। मतलब पनि भएन। बैतडीले दियो १४, कञ्चनपुरले ३० दियो। जोशी जीले ५० दिए।’

भिडियोमा निमित्त निर्देशक भट्ट मादक पदार्थ सेवन गरेको अवस्थामा पनि देखिएका छन्। भट्टले कार्यालयको काममा भन्दा आफ्नो निजी व्यापार व्यवसायमा ध्यान दिने गरेको, कार्यालयमा बिरलै मात्र आउने गरेको र कहिलेकाहीँ आइ हाले पनि एक दुई घण्टामै कार्यालय हाताबाट बाहिरिने गरेको कार्यरत कर्मचारीहरुले नै गुनासो गर्ने गरेका छन्।
यस्तै उनले विभिन्न मन्त्रालयबाट कृषकका लागि आएको करिब ४५ लाख अनुदान लिएर डडेलधुराको भद्रपुरमा आफन्तका नाममा बाख्रा फर्म र नर्सरी स्थापना गरेको खुल्न आएको छ।
कार्यालयको गाडी र चालक समेत लगेर हप्तौँसम्म बसी कार्यालयको सवारीसाधन तथा चालकको समेत चरम दुरुपयोग गर्ने गरेको आरोप उनी माथि छ । अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्ने बित्तिकै भट्ट निलम्बनमा पर्नेछन् ।विभिन्न आरोप लागेका निमित्त वन निर्देशक भट्टलाई छानविन गरि कारबाही गर्न समिति गठन गरिएको सुदूरपश्चिम प्रदेशका सांसद एवं लेखा समिति सभापति बिक्रम सिंह धामीले बताए ।
उनका अनुसार प्रदेश सभा सदस्य तथा पूर्व वन मन्त्री मानबहादुर धामी संयोजक रहेको समिति गठन गरिएको हो। प्रदेश सभाको लेखा समितिले भट्ट मातहतका कार्यालयबाट घुस माग्ने गरेको भिडिओ सार्वजनिक भएपछि छानबिनका लागि उप समिति गठन गरिएको लेखा समिति सभापति धामीले बताए ।
उप समितिको संयोजकमा पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामी रहेका छन भने सदस्यहरुमा वीरबहादुर थापा, खेमा विष्ट, बेलबहादुर रानामगर र टीका थापा रहेका छन्। सोमवार बसेको प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्य मान बहादुर धामीले निर्देशक भट्टमाथि छानबिन गरेर कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

निमित्त बन निर्देशक भट्टले बोलेको भिडियो

Leave A Reply

Your email address will not be published.