दार्चुला–सुदूरपश्चिमका पहाडी समुदाय आज गौरा एकादशी पर्व मनाइँदैछ । हरेक बर्षको साउन शुक्ल एकादशीलाई गौरा एकादशी पर्वको रुपमा मनाउने गरिएको छ । आजको दिन गौरा उपासना गर्ने महिलाहरुले ब्रत बस्ने गर्दछन् । गौरा पर्व उपासना गर्ने ब्रतालु महिलाहरुले गौरा एकादशीको ब्रत बस्नुपर्ने परम्परा रही आएको मालकिार्जुन ३की जानकी धामीले बताइन् । पहिलो पटक गौराको ब्रत लिने महिलाहरुले अनिवार्य रुपमा गौरा एकादशीको ब्रत उपासना गर्नुपर्ने परम्परा रहेको उनले बताइन् । गौरा उपासना गर्ने महिलाहरुले आज ब्रत बसेर साँझको समयमा पूजाआजा गर्ने चलन रही आएको छ । गौरामा दुवधागो धारण गर्ने ब्रतालु महिलाहरुले गौरा एकादशीबाटै गौरा पर्व शुरुवात भएको मान्ने गरिएको छ । गौरा एकादशी र जनैपूर्णिमा अघि दुबधागो धारण गर्ने परम्परा नरहेकाले भाद्र शुक्ल अथवा कृष्ण पक्षमा मात्रै गौरा पर्व मनाउने चलन रही आएको स्थानीय संस्कृतिका जानकार जहरीलाल जोशीले बताए । उनले भने ‘गौराको ब्रत लिनु अघि गौरा एकादशीको ब्रत लिने परम्परा रही आएको छ ।’यो बर्ष सुदूरपश्चिमका कतिपय ठाउँमा गौरा एकादशी अघि नै गौरा पर्व मनाइसकिएको छ । अगस्ती उदयका बिषयमा ज्योतिषहरुबीच मत बाझिएपछि यो बर्ष दुइै गौरा भएका हुन् । गौरा एकादशी र जनैपूर्णिमा अघि दुबधागो धारण गर्ने परम्परा नरहेका ठाउँमा भदौ १८ गतेदेखि गौरा मनाउने तयारी छ । तर गौरा एकादशी अघि नै दुबधागो धारण गर्न सकिने चलन रहेका ठाउँमा भदौ ७ गते गौरा मनाइसकिएको छ । गौरा एकादशी, जनैपूर्णिमा र त्यसपछि गौरा पर्व मनाउने प्रचलन रही आएको भन्दै धेरै ठाउँमा भदौ २१ मा गौरा मनाउने तयारी छ । श्रावण शुक्ल एकादशी अर्थात पुत्रदा एकादशीलाई नै गौरा एकादशीको रुपमा मान्ने गरिएको छ । सन्तान प्राप्ति, सन्तान सुख, पारिवारिक शान्ति र समृद्धिका लागि गौरा पर्व मनाइने भएकाले पुत्रदा एकादशीलाई गौरा एकादशीको रुपमा मान्ने गरिएको स्थानीय संस्कृतिका जानकार जयानन्द जोशीले बताए । भाद्र शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा र भाद्र कृष्ण पक्षमा परेको गौरालाई अँधेरी गौरा भन्ने चलन रही आएको छ ।हरेक बर्ष भाद्र शुक्ल अथवा कृष्ण पक्षको पञ्चमी तिथीबाट गौरा पर्व शुरु हुने गर्दछ । त्यो भन्दा अगाडि साउन शुक्ल एकादशीलाई गौरा एकादशीको रुपमा ब्रत बस्ने चलन रही आएको हो ।