दार्चुला – सरकारी विद्यालय बन्द गराएर सुदूरपश्चिमका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन्। प्रदेशभित्र चार हजार ३०१ सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–शिक्षिका बुधबार आन्दोलनका लागि काठमाडौं पुगेका छन्। विद्यालय अनिश्चितकालीन बन्द गर्ने घोषणासहित राजधानी पुगेका शिक्षक–शिक्षिकाहरूका कारण प्रदेशभरका विद्यालय बन्द हुने अवस्थामा पुगेका छन्।सरकारले संसदमा प्रस्तुत गरेको प्रस्तावित विद्यालय शिक्षा विधेयकमा १८ बुँदे असहमति राखेर शिक्षक महासंघको घोषणाअनुसार आन्दोलनका लागि शिक्षकहरू काठमाडौ पुगेपछि सुदूरपश्चिमका ९ लाख २० हजार ९३७ विद्यार्थीको पठनपाठन प्रभावित हुने देखिएको छ। शिक्षक आन्दोलनका कारण अछामका ४७१ विद्यालयमा पढ्ने ९२ हजार ७२१ विद्यार्थीले अनिश्चित समयसम्म घरमै बस्नुपर्ने देखिएको छ।त्यस्तै, शिक्षक आन्दोलनका कारण बैतडीका ५१३ सामुदायिक विद्यालयमा अध्ययनरत ८२ हजार १६७ विद्यार्थी, बझाङका ४४८ सामुदायिक विद्यालयका ७८ हजार ९६३ र बाजुराका २३८ सामुदायिक विद्यालयका ५४ हजार २३४ विद्यार्थीले बिहीबारबाट घरमै बस्नुपर्ने देखिएको छ।सम्पूर्ण शिक्षक आन्दोलनमा उत्रिएपछि डडेल्धुराका २४७ सामुदायिक विद्यालयका ४४ हजार २९५ विद्यार्थी, दार्चुलाका ३४३ सामुदायिक विद्यालयका ४३ हजार ५२६, डोटीका ३८० सामुदायिक विद्यालयका ७७ हजार ३८३ जना विद्यार्थीको पढाइ प्रभावित हुने भएको छ।