दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका अन्तर्गत वार्ड नम्बर ४ औतालेक गाउँको टुप्पोमा हुनैनाथ मन्दिर रहेको छ । हुनैनाथ देवता छिप्लकेदार र भागाश्री का पुत्र तथा बैजनाथका भान्जा हुन । हुनैनाथलाई स्थानीय भाषामा विभिन्न ठाउँमा हुन्शिकर, हुष्कर आदि नामले पनि पुकारिने गरिन्छ । हुनैनाथ मन्दिरलाई वरदानी ढोका पनि भन्ने गरिन्छ ।हुनैनाथाको आराधाना गर्नाले मनले चिताएको पुराहुने जनविश्वास रहिआएको छ ।
आराध्यदेव हुनैनाथ प्रतिको आस्था, बिश्वास, महिमा, भरोसा आदिको बारेमा चर्चा गर्दा हुनैनाथको उत्पत्ति सम्बन्धमा पनि केही कुरा श्रुति, आख्यान र किम्बदन्तिका आधारमा उलेख गर्नु बाञ्छनिय देखिन्छ । वेद, पुराण, उपनिषद, धर्मग्रन्थ, लोकश्रूति, झोडो, फाग, भक्तिगाथामा बर्णित ईश्वरीय शक्तिबाट प्रकट भएका ब्रह्मा, बिष्णु, शिव लगायतका सृष्टि कालमै अजन्मा, अविनाशी, अलौकिक शक्तिपुञ्ज मध्येका श्रीकेदार, ध्वजकेदार, रौलकेदार, ग्वाल्लेककेदार र छिप्लकेदार गरि पाँच महादेवले केदारको दर्जा प्राप्त गरेको कुरा विभिन्न वेद, पुराण तथा अन्य धार्मिक ग्रन्थहरुबाट स्पष्ट हुन्छ । त्यसै गरि सृष्टि कालमै ईश्वरीय शक्तिबाट प्रकट भएका ५६ कोटी भगवती मध्येका हिम पुत्रीहरु भागाश्री, शोभाश्री, शैल्यश्री, पूर्णाश्री र शुर्माश्रीलाई पञ्चश्री भगवतिको रुपमा वर्णन गरेको पाइन्छ ।
यिनै पञ्चकेदार मध्येका छिप्लकेदार (छिपलो) र पञ्चश्री मध्येका जेष्ठ हिम पुत्री भागाश्रीको जेष्ठ सुपुत्र हुनैनाथ बैजनाथका भान्जा हुन भनी हुनैनाथको भक्तिगाथामा समेत उल्लेख गरिएको छ । इष्टदेव हुनैनाथको बारेमा लेख्दै गर्दा मैले सुनेको र तत् सम्बन्धी केही कुराहरु अध्ययन गरेको आधारमा आफ्नो मनले कुनै पनि कुरा बढाई चढाई नगरीकन हुनैनाथको चमत्कारिक अवतार सन्दर्भलाई यस लेखमा समेट्ने प्रयास गरेको छु ।
श्री हुनैनाथ छिप्लकेदार र भागाश्रीको कोखबाट अवतार भएको कुरा विभिन्न आख्यान, श्रुति, किम्बदन्ति र भक्तिगाथा तथा झोडो, फाग, सगुन आदिबाट पुष्टि हुन्छ । दोभाषे कुरा गर्दा पाठकहरुको मनमा खिन्नता प्रकट हुनु त स्वभाविकै हो आफूलाई पाठकको रुपमा हेर्दा यस लेखमा हुनैनाथको उत्पत्ति सम्बन्धी केही रोचक प्रसंगहरु प्रस्तुत गर्ने प्रयास गरेको छु ।
प्राचीन औल्लेक क्षेत्र भित्रका गाउँहरुमा विभिन्न जात जातिका मानिसहरुको बसोबास थियो । विभिन्न जातका मानिसहरु बसोबास गरेको कुरा अहिलेका गाउँहरुको नामबाट पनि पुष्टि हुन्छ । प्राचीन कालमा बोहराहरुले बसोबास गरेको क्षेत्रका ऐतिहासिक स्थानहरुमा बोराइजर, बोरेकाफल, बोरामाणौं, बोरेपानी आदि स्थानहरु रहेका छन् । ओजिगाड, ओजिखेतमा ओझाको बस्ती रहेको र जोशीगाउँमा जोशीको बस्ती, मलबाबमा मल्ल जातका मानिसहरुको बसोबास रहेको कुरा पुष्टि हुन्छ । प्राचीन कालमा गाईवस्तु चराउन वनमा ग्वाला जाने गर्दथे भन्ने कुरा त द्वापरयुगमा कृष्णले गोकुल मथुरामा गाईहरु चराएको कुरा महाभारत ग्रन्थबाट पनि पुष्टि हुन्छ ।औतालेक (औल्लेक) गाउँका मानिसहरु पनि दिनहुँ जसो वनमा गाई भैंसी चराउन जाने गरेको तथ्य यहाँको स्थानीय भाषामा गाईने भक्तिगाथा झोडोबाट पुष्टि हुन्छ । एउटा काली दुहुनो गाई वनमा चर्न गएपछि सधैं घरमा रित्तो थुन बनाएर जाने रहेछ र साँझ दूध दुहुँदा थुनबाट दूध नै नआउने रहेछ । महिनौं दिन सम्म पनि यस्तै भएपछि एक दिन बोहोरा थरका मान्छेले उक्त कालीगाईलाई आफ्नो निगरानीमा राखेछ र एक दिन लुकेर हेर्दा एउटा शिलामा गाईको थुनबाट आफै दूध चुहिरहेको देखेछ । यो क्रम केही दिन सम्म चलि नै रह्यो । केही दिन पछि गाईको थुनबाट दूध चुहिरहेको अवस्थामा बोहरा थरको मानिसले देखे पछि के रहेछ त भनी शिलापत्रमामा हँसियाले हान्दा उक्त शिलापत्रबाट रगतको धारा बगेछ र तत्कालै त्यो मानिसले आफ्नो शरीरमा लगाएको बोदलो बोराले छोपेछन् । यसरी त्यो दिनदेखि शिलापत्र देवत्वमा परिणत भइ पूजन गर्न थालियो र हुन्शिकर देवताको अवतार भएको कुरा हुन्शिकरको झोडो तथा भक्तिगाथाबाट पुष्टि हुन्छ । सोहि दिन देखि हंश राज भट्टमा हुन्शिकरको अवतार देखा परेकोले उक्त शिलापत्र भित्रको लिङ्गको पूजन गर्न थालिएको कुरा हुन्शिकरको झोडो तथा भक्तिगाथामा उल्लेख गरिएको छ । हंश राज भट्ट कत्यूर (भारत) बाट आएर औतालेकमा बसेको ईतिहास छ । कत्यूर कुमाऊँको बारेमा यस लेखमा उल्लेख गर्नु बाञछनिय देखिन्छ ।
कत्यूरी वंश:-
कत्यूरी वंशको उत्पत्ति सम्बन्धमा फरक फरक मतहरू रहेका छन् । केहि इतिहासकार हरूका अनुसार कत्यूरी वंशलाई कुणिंद वंशसंग सम्बन्धित मान्दछन् । जसका अभिलेखहरू आसपासको क्षेत्रमा पाइएका छन् भनेर इतिहासकार हरूले दाबी गरेकाछन् । राहुल सांकृत्यायनका अनुसार कत्यूरी वंशलाई शक वंशसित सम्बन्धित गरेको पनि पाइन्छ । जुन ई। पू। पहिलो शताब्दी भन्दा पहिले भारतमा बसोबास गर्दथे । सांकृत्यायनले यिनका पुर्वजहरु खस वंशका थिए भनेर उल्लेख गरेको पाइन्छ । ई टी एटकिंसनले आञफ्नो पुस्तक हिमालयन गजेटियरमा कत्यूरी कुमाऊका मूल बासिन्दा हुन सक्छन भनेर उलेख गरेको पाइन्छ । जसका भग्नावशेष र अभिलेखहरू गोमती नदीको किनारमा खण्डहर अवस्थामा नगर करवीरपुरमा रहेका छन् भनेर इतिहासका रहरूले उल्लेख गरेकाछन । गोमती नदीको बारेमा पनि पाठक हरूलाई जिज्ञासा हुन सक्छ । मेरो जानकारीको आधारमा गोमती नदीको उदगम स्थल, बहाव र अन्त्य सम्बन्धी उल्लेख गर्नु सान्दर्भिक होला जस्तो लाग्छ ।
गोमती नदी भारतको उत्तराखण्ड राज्यको कुमाऊँ मण्डलको बागेश्वर ज़िल्ला भएर बग्ने एक नदी हो । यसको उदगमस्थल बैजनाथ नगरको पश्चिम उत्तरमा अवस्थित भटकोट ठाउँ हो । यो नदी दक्षिणपूर्व दिशा भएर बागेश्वर धामको सरयू नदीमा मिसिन्छ । जुन नदी अगाडि बगेर बैतडी जिल्लाको पंचेश्वरमा महाकाली नदी (शारदा नदी) मा आएर विलिन हुन्छ ।
इतिहासकार बद्री दत्त पाण्डेय लगायतका विभिन्न इतिहासकारहरू भने माथि उल्लिखित भनाई प्रति असहमत देखिएकाछन् । पाण्डेयले कुमाऊँ का इतिहासू नामक पुस्तकमा कत्यूरीहरू अयोध्याका शालिवाहन शासक घरानाका वंशज हुन भनेर उल्लेख गरेका छन् । उनले खस वंशलाई कत्यूरका मूल वासिन्दा हुन भनी उल्लेख गरेका छन् । यिनीहरू वेदको रचना हुनु पुर्व यो क्षेत्रमा आएर बसेका थिए । पछि कत्यूरीहरूले यिनलाई पराजित गरि आफ्नो राज्य बिस्तार गरेका थिए ।
मैले हुनैनाथ देवताको बारेमा उल्लेख गर्दैगर्दा औतालेकमा बसोबासगर्ने औल्लेकी धामीहरूको बारेमा छोटो चिनारी उल्लेख नगर्दा यो लेख नै अधुरो हुने सम्झेर थोरै परिचय गराउने ध्येयका साथ किम्बदन्ति, जनश्रुति तथा इतिहासका जानकारहरूको भनाईलाई आधार मानेर औल्लेकी धामीहरूको नालीवेली उल्लेख गर्ने प्रयास गरेको छु । औल्लेकी धामीहरूको पुर्खा कत्यूर (कुमाऊँ गडवाल) बाट यस औल्लेक क्षेत्रमा आएर बसोबास गरेको कुरा इतिहासका जानकारहरू र गाउँका समाजसेवी, बृद्ध नागरिक, जनश्रुतिबाट हंश राज भट्ट (औतालेक) मा आएर बसोबास गरेको भन्ने कुरा स्पष्ट हुन्छ । औल्लेकी धामीहरूको पुर्वज हंश राज भट्ट हुन । हंश राज भट्टको औल्लेकमा आगमन पश्चात् हालको मालिकार्जुन गाउँपालिका अन्तर्गत वार्ड नम्बर (६ उकु, सलेती, र लेकम गाउँपालिकाको कुणी, गराडी, सर्मोली लगायतका क्षेत्रमा हिन्दु धर्मको संस्कार अनुसार वृत्ती (कर्मकाण्ड) गर्ने कार्यमा संलग्न थिए भनेर औल्लेकीहरूको वंशावलीसंग सरोकार राख्ने जानकारहरू र गाउँका बुढापाकाहरू बताउँछन् । हुनैनाथ देवता र औतालेकी हरुको संक्षिप्त वंशावली औतालेकी हरुको इष्टकुल देवता भएकोले रैथान बसोबास औतालेक र ओगाई खानू कर्म गरेर खाने कुणी, गराडी भन्ने कुरा हुन्शिखरको भक्तिगाथा र जनश्रुतिबाट पनि हुन्शिखर देवताको हेरालो रेखदेख गर्ने हंश राज भट्ट माथि उल्लिखित क्षेत्रहरूमा गई पुजापाठ तथा वृत्ति कर्म गर्ने गर्दथे भन्ने कुरा प्रष्ट हुन्छ । तथापि हंश राज भट्ट वेदका ज्ञाता भने थिएनन् भनेर गाउँका जानकारहरू बताउँछन । यो लेख पढ्ने पाठकहरूलाई हंश राज भट्ट कसरी भाट भएछन् भन्ने जिज्ञासामा एउटा रोचक प्रसंग उल्लेख गर्नु सान्दर्भिक ठानेको छु ।
औल्लेक गाउँ भटमासको लागि निकै उर्बर भूमि थियो । अहिले पनि यो क्षेत्रमा विभिन्न प्रजातिका भटमास कालो, धौलो, करडो रङ्ग हरूको उत्पादन हुने गर्दछ । त्यति बेला स्थानीय भाषामा भटमासलाई भट्ट भन्ने गर्दथे । अहिले पनि भट्ट नै भन्ने गर्दछन् । हंश राज भट्टको औल्लेकमा आगमन पश्चात् त्यहाँ बसोबास गर्ने अन्य जातिहरू मल्ल, जोशी, बोहरा आदि जातिका मान्छेहरुले कालो, धौलो, करडे उपनाम लगाएर भट्ट सम्बोधन गर्दा आफू अपहेलित भएको महसुस गरी हंश राज भट्टले म भट्ट होइन भाट हुँ भने पछि भट्ट थरको अपभ्रंश भएर हंश राज भाट भएको र दैवीय अवतार पश्चात् काम्ने मान्छेलाई धामी भन्ने हुँदा हंश धामी भएको हो भनेर गाउँका बुढापाका जानकारहरू बताउँछन् । किम्बदन्ति तथा जनश्रुति अनुसार हंश राज भ्ट्ट भाट (क्षेत्री) हुनुको अर्को पनि रोचक प्रसंग रहेको छ । औल्लेक क्षेत्रमा विभिन्न प्रजातिका भट्ट (भटमास) उत्पादन हुने गरेको कुरा माथि उल्लेख गरिएको छ । हंश राज भट्ट सन्या (गायत्री मन्त्र)ज प र बिहान पुजापाठ नगरिकनै भटमासको सातु भट्ट भुटेर ओखलमा गुड, खुदो मिसाएर कुटेको कलेउ (नास्ता) खाएको हुनाले गाउँका भद्र भलादमीहरूले हंश राज भट्टलाई भाटको संज्ञा दिएको हुनाले हंश राज भाट भएको भन्ने अर्को थरिको तर्क तथा बुझाई रहेको छ । अहिले पनि आधा दिनको हंश भाट, आधा दिनको हंश धामी भन्ने गर्दछन् । हंश राज भाटका सन्तान औल्लेकीहरू भारद्वाज गोत्री हुन । करीब १२ औं शताब्दीको अन्त्य तिर कत्यूर (कुमाऊँ गडवाल) मा हिन्दु मुश्लिमको लडाई पश्चात् धर्म संस्कृतिको बचाऊ गर्न र ज्यान बचाउन भागेर औल्लेकमा आएर बसोबास गरि आफ्नो वंश विस्तार गरेको कुरा इतिहासबाट पनि पुष्टि हुन्छ ।
हंश राज भट्टबाट भाट हुँदै दैवीय अवतार पश्चात् धामी औल्लेकीहरू हाल औल्लेक बाहेकका अन्यत्र क्षेत्र र ठाउँहरू उकु सलेती, कञ्चनपुर, कैलाली, काठमाण्डौ आदि मा समेत छरिएर रहेका छन् । औल्लेकी धामीहरू संस्कारी, पुर्खाहरूको बिंडो, वचनलाई पालनगर्ने, धार्मिक अध्यात्मिक प्रबृति र सरल स्वभावका छन् । आफू स्वयम् औल्लेकी धामी भएकोले औल्लेकीहरूको बखानगर्नु त मेरो मुर्खता नै हो, किनकि नजाति छु नराम्रो छु कुन बन्छ र रु औल्लेकीहरूको विशेषता तथा राम्रा नराम्रा पक्षहरू केलाउने जिम्मा पाठकहरूलाई नै सुम्पन चाहन्छु ।
हुनैनाथ मन्दिर औल्लेक गाउँको सिरानमा एक सुन्दर रमणिय स्थानमा रहेको छ । मन्दिरको उत्तर पूर्वमा सल्ला, बाज, लालीगुराँश आदि वनस्पतिहरु, दक्षिणमा भिरालो पातलो जंगल र पश्चिममा रानीपातल रहेको छ । रानीपातलमा विभिन्न प्रजातिका बनस्पति विरुवाहरु ९सल्लो, लालीगुराँस, उतिस, काफल, बाज, सिर्पा, ऐसेलु, किरमडा आदिको घना जंगल रहेको छ । उक्त रानीपातल अझै संरक्षणको पर्खाईमा रहेको छ । मन्दिर परिसरको चारैतिर विभिन्न आकार प्रकारका घण्ट, त्रिशूल, मूर्तिहरुले सु(सज्जित रहेको छ । मन्दिरको दक्षिण(पश्मिमतिर केहि खुडकिलाहरु पारगरेर मन्दिर परिसरकै तल हिङलो (पिङ) गाडिएको छ । मन्दिरको मुख्य आकर्षण रहेको हिङलोको संरक्षण गरिनु जरुरी छ । मन्दिरको दक्षिण(पश्चिम केहि तल औल्लेक गाउँको माथि हंशराज भट्टको कुमाउँ कत्युर आगमन स्थल पारसिला गाउँ रहेको छ । हंशराज भट्ट भारद्वाज ऋषिका सन्तान हुन् । कालान्तरमा भट्ट थर अपभ्रंश भएर भाट र हुनशिकरको दैवीय अवतार पश्चात् धामी भनिने गरेको गाउँका बुढापाका तथा इतिहासका जानकारहरू बताउछन् । औल्लेकी धामीहरु भारद्वाज गोत्रका हुन । पारसिलामा भणारी घर हुनैनाथ देवताको सरसामान राख्ने भण्डार रहेको छ ।
विभिन्न धार्मिक चाडपर्वहरुमा पारसिलाबाट नै दमाहा, झ्याली, मिजरा, विगुल भोकरको बाजागाजा सहित भणारी घरको परिक्रमा गरि आवश्यक सामग्री लगेर हुनैनाथ मन्दिरमा जाने गरिन्छ । यस लेखमा भण्डार घरलाई भणारी घर र भण्डार गर्ने जिम्मेवारी पाएको व्यक्तिलाई भणरे पदले सम्बोधन गरिएको छ । विभिन्न चाडपर्वहरुमा मन्दिरको मूल पुजारी पाण्डा, भणरे, पतरे, भोकरिया, भोकर, बजाउने हरु मुख्य कारिन्दा देवताको कामगर्ने हुन्छन् । विभिन्न ठाउँहरुबाट पोखल चामल, घिउ, बत्ती, धूप, फूल, भेटी ल्याएर श्रद्धालु भक्तजनहरु मन्दिरमा गोंरा, खेडी, जात हेर्न र पुजापाठ गर्न आउने गर्दछन् । टाढा टाढाबाट आएका भक्तजनहरुको लागि निस्शुल्क भोजनको व्यवस्था पनि गरिएको हुन्छ । चाडपर्वको बेलामा मन्दिर परिसरमा मेला लाग्ने गर्दछ । हुनैनाथको जप ध्यान गरी दर्शन गर्नाले सत्रुक्षय हुने, निरोगी हुने, निःसन्तानलाई सन्तान प्राप्त हुने, मनोकाँक्षा पूरा हुने जनबिश्वास रहि आएको छ।
समलघाँट प्रसङ्ग:-
यस लेखमा आराध्यदेव श्री हुनैनाथ स्वामीबाट भए गरेका केही चमत्कारीक महिमाहरू पनि उल्लेख गर्नु सान्दर्भिक देखिन्छ । हुन्शिकरको चमत्कारीक महिमाहरू मध्ये यो लेखमा समलघाँट प्रसङ्गलाई जोड्न गइरहेको छु । प्राचीन कालमा औल्लेकमा हुन्शिकरको अवतार भई मूल मन्दिर समेत निर्माण भै यहाँका जनमानसमा हुन्शिकर प्रतिको श्रद्धा, भक्ति र विश्वासले गर्दा भक्तजनबाट देव पुजन गर्ने र मनोवाञ्छित फल प्राप्तहुने जनविश्वास रहेको थियो र अहिले पनि सो विश्वास कायमै रहेको छ । प्राचीन कालमा औल्लेकी धामीहरू र अन्य छिमेकीहरू हाम्रो मित्र राष्ट्र भारतको अल्मोडा बजार गई घरको लागि चाहिने अत्यावश्यकीय सरसामानहरू ९लत्ता कपडा, नून, भाँडाकुँडा आदि ल्याउने गर्दथे र आफू संग भएको भटमास, घिउ, गुड लगायतका सामानहरूको बिक्री पनि गर्दथे । त्यस बेला अल्मोडालाई समल देश पनि भनिन्थ्यो । औल्लेकीहरूले आवश्यकीय सामनहरूको किनवेच गरेर घर फर्कने बेलामा आफ्नो इष्टदेव हुन्शिकर देवतालाई उपहार स्वरुप घण्ट चढाउने भक्तिभाव जागेछ । घण्ट खरिद गर्न विभिन्न पसलहरू चहारेर बल्लतल्ल एउटा पसलमा हुन्शिखर देवतालाई चढाउन सुहाउनेखालको एउटा घण्ट फेला पारेछन् । पसलेसंग घण्टको मोलमोलाई भएपछि उक्त घण्टको लागि आवश्यक रकम नपुग भएछ । औल्लेकीहरूले यो घण्ट हाम्रो देवतालाई सुहाउने खालको छ, सकिन्छ भने नपुग रकम हामी दोस्रो पटक आउँदा चुक्ता गरौंला, घण्ट दिनुहोस । सकिँदैन भने अर्को पटक आउँदा लगौंला यसलाई अरुलाई नबेच्नु होला भनेर पसलेलाई अनुरोध गर्दा पसलेले रिसाएर देवताको धाक फुर्ति किन लगाउनु हुन्छ तपाईको देवताको लागि सुहाउने घण्ट हो भने यात घण्टको पुरै पैसा चुक्ता गर, हैन भने तपाईको देवतालाई साँच्चिकै सुहाउने र तपाईको देवता साँच्चिकै शक्तिशाली छ भने देव शक्तिले आफै लगोस । अन्यथा कुनै उपाय छैन, उधारो दिन सकिँदैन भनेछन् । पसलेले यति कुरा भन्दै गर्दा साँच्चिकै उक्त घण्ट जमिनबाट उठेर घन्घनी बज्दै आकास मार्ग हुँदै उडेर पुर्ब दिशातिर लागेछ । यस्तो अचम्मित चामत्कारिक दृश्य देखेर सबै जना छक्क परेछन् । सबैले हुनैनाथको स्तुति वन्दना गरेछन् ।
हुनैनाथको स्तुतिरबन्दना १११
पवित्र नाथ । प्रभु हुनैनाथ ।।
रानीवन छ मुन्तिर माथि मन्दिर ।।
काखमा छन् नरनारी हरे, मन्दिर छ टाकुरीमा ।
पथमा लाउँछौ भक्तलाई, समाई पाखुरीमा ।।
फुट्लिङ्ग हुन थापना होइन, मन्दिर हुनैनाथमा ।
पूर्णिमाको जून जस्तै मुकुट छ माथमा ।।
महिमा तिम्रो अपरम्पार, कोटी कोटी नमस्कार ।
हाम्रो इज्जत राखीदियौ, शक्ति भो साकार ।।
तत्पश्चात उक्त घण्ट आकास मार्ग हुँदै बज्दै केही समय पछि औल्लेक गाउँको पारसिलामा अवतरण भएछ । उक्त चमत्कारी घाँट औल्लेकीहरूले देखेपछि सबै जना भेलाभइ उक्त घाँटको दर्शन गरि विभिन्न शंका उपशंका अडकलबाजी गर्न थालेछन् । केही दिन पछि समल देशबाट सामान किनेर औल्लेकी घर फर्केर सबै बृत्तान्त बताए पछि सबै नरनारीहरू नतमस्तक भइ आराध्यदेव हुनैनाथको जय जय कारगर्दै उनको महिमाको प्रशंसा गर्न थाले । समलदेशबाट उडेर बज्दै आएको उक्त घाँटलाई हाल सम्म पनि समलघाँट भनेर पुकारिन्छ । यो चमत्कारी अद्भूत शक्ति भएको घाँट ९घण्ट० मन्दिरको गव्यूरभित्र सुरक्षित रहेको छ । चमत्कारी शक्ति भएकै कारण सबैको लागि दर्शन गर्न खुला नराखिए पनि चोखो भोको भइ उपवास बसेर शुद्ध तनमनले भेटी चढाएर दर्शन गर्न सकिने प्रचलन रहि आएको छ ।
लेखक:- मान सिंह धामी (भौनबाटी)
उप प्राध्यापक कैलाली बहुमुखी क्याम्पस, धनगढी
स्थायी ठेगाना :- मालिकार्जुन -४ हुनैनाथ गोठ्युडी, दार्चुला
स्रोत धामी, राजेन्द्र र दामोदर ९२०७८०, आराध्यदेव हुनैनाथको महिमा तथा औल्लेकी धामीहरुको वंशावली गोकुलेश्वर दार्चुला ।
पाण्डेय,बद्रीदत्त ९२०२२०, कुमाऊँ का इतिहास भारत
पन्त, दयाकृष्ण ९२०६७०, दार्चुलाको इतिहास महेन्द्रनगर