दार्चुला : विश्व पशुपन्छी दिवस आज दार्चुलामा पनि विविध कार्यक्रम गरी मनाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाको आयोजनामा ‘साना ठूला जनावर, माया गरौँ बराबर’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । पशु सेवा विज्ञ केन्द्रले बिहान प्रभात फेरी ¥र्याली निकाल्दै सरोकारवाला निकायका बीच अन्तरक्रिया गरी दिवस मनाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका कार्यालय प्रमुख राम बहादुर खड्काले बताए ।
अन्तरक्र्रिया कार्यक्रममा मानिसले साना र ठूला पशुपन्छीहरुलाई गर्ने व्यवहार राम्रो र समान हुनुपर्ने, भोक, प्यास र कुपोषण हुन नदिने, पीडा, घाउ, चोट हुन नदिने लगायत विषयमा जोड दिइएको थियो । कार्यक्रममा दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका सशस्त्र प्रहरी उपरीक्षक डम्बर बहादुर विष्ट, प्रहरी प्रमुख, डीएसपी शिव बहादुर सिंह, अनुसन्धान अधिकृत भगेन्द्र चन्द, जिल्लाका ९ वटै स्थानीय तहका पशु शाखाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
दार्चुुलामा पछिल्लो समय छाडा पशुचौपाया व्यवस्थापनको चुनौती देखिएको छ । मानिसहरुले बजारमा पशुहरुलाई खुला छोडिदिदा बजार दुर्गन्धित हुनुका साथै मानिस र सवारी साधनको आवतजावतमा समस्या हुने गरेको छ ।