दार्चुलाको उकु महलको ऐतिहासिक महत्त्व

दार्चुलाको उकु महलको चर्चा परिचर्चा भने कालापानी जत्तिकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा पनि हुने गरेको कुरा अन्तर्राष्ट्रिय स्तरमा लेखिएका इतिहासका दस्तावेजहरूले पनि सिद्ध गरेको छ । विभिन्न इतिहासविद तथा संस्कृतिविदहरूले उकु महलको बारेमा केही मुद्दाहरू उठान गरे पनि होलान, तर स्थानीय सरकार तथा अन्य निकायहरूको ध्यान नजानु दुस्खद कुरा हो । कालापानीको बारेमा त चुनावताका राजनीतिक एजेन्डाको रुपमा ठुलै बहसको बिषय बने पनि उकु महलको बारेमा चुनावी एजेन्डा बन्ने त कुरै भएन ।
दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर – ६ उकुको सिरानमा रहेको पुरातात्त्विक, प्राचीन, ऐतिहासिक महत्त्व बोकेको उकु महलको भग्नावशेष संरक्षण र पुनःनिमार्णको पर्खाइमा रहेको छ । उकु महलको निर्माणको समयको बारेमा तथ्यपरक खोज अनुसन्धान गरी पत्ता लगाउनु त धेरै कठिन कार्य हो, तथापि यसको तथ्यपरक खोज अनुसन्धान गर्नु महत्वपूर्ण हुन्छ । तथापि अहिले सम्म यो महलको बारेमा कुनै पनि अनुसन्धानकर्ता, इतिहासविद, संस्कृतिविद, राजनीतिकर्मी तथा राज्य पक्षबाट समेत खोज अनुसन्धान गरी संरक्षण, जिर्णोद्वार तथा पुनस्निर्माणको लागि कुनै पहल कदमी भएको देखिदैन । आफू इतिहासविद, संस्कृतिविद तथा पुरातत्वविद त होइन, तर एक सचेत नेपाली नागरिकको हैसियतले उकु महलको संरक्षण, पुनर्निर्माण तथा जिर्णोद्वारको लागि सम्वन्धित कुनै पक्षको ध्यानाकर्षण होला कि भनेर उकु महलको बारेमा केहि कुराहरु मैले अवलोकन गरेको, जनश्रुति तथा केही इतिहास सम्बन्धी पुस्तकहरू अध्ययन गरेको आधारमा संस्कृति सम्बन्धी खोज अनुसन्धानको क्षेत्रमा कलम चलाउने तथा जिज्ञासा राख्ने पाठकहरूको समेत ध्यानाकर्षण गराउने ध्येयका साथ यो लेख लेख्ने जमर्को गरेको छु ।
उकु महलको बारेमा लेख्दै गर्दा उकु गाउँको छोटो परिदृश्य पनि चित्रण गर्नु सान्दर्भिक होला जस्तो लागेको छ । मालिकार्जुन गाउँपालिकाअन्तर्गत वडा नम्बर – ६ महाकाली नदीको तटमा अवस्थित सम्म उर्बर मैदानी भाग एकदमै सुन्दर रमणीय स्थल हो । उकु गाउँमा एक पटक पाइला टेक्ने जो कोहीलाई पनि यो सुन्दर, शान्त र रमणीय स्थलले मन नलोभ्याउला भन्न सकिन्न । उकु गाउँमा पाल जाति (थर) को बाहुल्यता रहेको छ । यो गाउँको प्रमुख अन्नबाली धान, मकै र गहूँ, जौं, भटमास, गहत, मसुरो, मास नै हो ।
अभयपालले डोटीतिर राज्य स्थापना गरेको समय कुमाऊँ का इतिहास (बद्रीदत्त पाण्डे) नामक पुस्तकमा सन् १२७९ ९सम्वत् १३३६० लाई उल्लेख गरेको पाइन्छ । अभयपालको डोटी राज्यको स्थापना, सुदृढीकरण गर्दै अजयमेरु दरवार निर्माण गरेपछि उकुतिर राज्य बिस्तार गर्दै उकु महल निर्माण, आठ खस राजाहरूलाई हराई सकेपछि मात्र अस्कोटको राज्य स्थापना गरेका हुन् । यसरी अस्कोट विजयको समय भन्दा अघि उकु महलको निर्माण भएको इतिहास छ ।
मध्यकालीन कत्युरी राजाहरूको राज्य अन्तर्गत पर्ने महत्त्वपूर्ण उक्त महल कुनै कारण भत्किन गई भग्नावशेषमा परिणत भएको किम्बदन्ती छ । सुदूरपश्चिम प्रदेश मध्ये कै एउटा ऐतिहासिक पुरातात्त्विक प्राचीन सम्पदाको रुपमा रहेको यो महलको अध्ययन, अन्वेषण, अनुसन्धान र उत्खनन् गर्न सकेमा दार्चुलाको मात्र नभएर राष्ट्रकै ऐतिहासिक उपलब्धि हुनुका साथै बाह्य तथा आन्तिक पर्यटकीय गन्तब्य बन्न सक्ने प्रचूर सम्भावना रहेको छ । अझ साँच्चिकै भन्नु पर्दा अध्ययन, अनुसन्धान, अन्वेषण र उत्खननले मात्र पनि ऐतिहासिक, पुरातात्त्विक सम्पदा भन्न यो महलसंग साक्षात्कार गर्ने जो कोहिले पनि हिचकिचाउनु पर्ने हुन्छ । यो ऐतिहासिक पुरातात्त्विक महलको संरक्षण तथा जगेर्ना गर्न सकेमा मात्र दार्चुला जिल्लाको ऐतिहासिक पुरातात्त्विक प्राचीन सम्पदा हो भन्दा छाती गर्वले फुल्ने छ । उकु क्षेत्रमा ठुलो संख्यामा कलात्मक शिलाहरु छरिएका छन् । देवीदेवताका मूर्तिहरु, आमलक, शिखर गजुरका अर्ध भागहरू, ढुङ्गेधारा, नाग, बसाह, सिंह, चक्रशिलासहित थरिथरिका आकृतिहरू विभिन्न शिलामा कुदिएको स्पष्ट देख्न सकिन्छ । उक्त शिलाहरू र उकु गाउँको तस्बीर यसै लेखसंग सलग्न राखेको व्यहोरा अनुरोध गरे ।
उकुमा रहेको उकु महलको भग्नावशेष प्रचारप्रसार र अनुसन्धान हुन नसक्दा ओझेलमा परेको छ र उकु महलको अस्तित्व नै लोप हुने अवस्थामा रहेको छ । पुरानो दरबारको भग्नावशेषको रूपमा रहेको ठाउँको अध्ययन अन्वेषण नहुनुले उकु महल संकटमा परेको छ र संरक्षणको पर्खाइमा रहेको छ भन्दा अत्त्युक्ति नहोला । मध्यकालीन कत्युरी राजाहरुको राजधानीको रुपमा यसलाई निर्माण सुरु गरेको इतिहास भेटिन्छ । कत्युरी राजवंशको अन्त्यपछि १२ औं शताब्दीमा पाल राजाहरु अस्कोट, अजयमेरुकोट, दिपालयकोट लगायतका क्षेत्रमा बसोबास गर्ने गरेको पाइन्छ ।
उकु महलको भग्नावशेष स्थलमा विभिन्न शिलालेख लेखिएका चट्टानहरु रहेका छन् । मध्यकालीन कत्युरी राजाहरुको राजधानीको रुपमा यसलाई निर्माण सुरु गरेको इतिहास भेटिन्छ । कत्युरी राजवंशको अन्त्यपछि १२ औं शताब्दीमा पाल राजाहरु अस्कोट, अजयमेरुकोट दिपालयकोट लगायतका क्षेत्रमा बसोबास गर्ने गरेको पाइन्छ । सर्वप्रथम रजबार भारती पाल सो क्षेत्रमा दरबार बनाएर बसेको इतिहास रहेको इतिहासका जानकारहरू बताउँछन् । इतिहासबारे जानकारहरुका अनुसार उकु भग्नावशेष नाग पाल राजाले दरबारमा मन्दिर बनाउन उक्त क्षेत्रमा मूर्ति सिलालेखहरु जम्मा गरेका थिए । अहिले सो क्षेत्रमा भेटिने सूर्यनारायणका मूर्ति, सिलालेखहरु हेर्दा दरबार भित्रको मन्दिर बनाउन जम्मा गरिएको हुन सक्ने ठम्याइ छ । यो ऐतिहासिक महत्त्वको स्थल हो भन्ने कुरा त्यहाँ भेटिने कोटघर, देवस्थल, दरबारको मजवुत किल्लाहरु, ढुगांमा कुदिएका विभिन्न भगवानको मुर्तिहरु, विभिन्न आकृतिका ढुगांहरुले दर्शाइ रहेको कुराबाट प्रष्ट हुन्छ । दार्चुला जिल्ला मध्यकालीन शक्तिशाली कत्युरी राज्य र सभ्यताको हिस्सा थियो भन्ने ऐतिहासिक दस्तावेजहरुले पुष्टि गरेको छ । उकुको ऐतिहासिक सम्वन्ध सीमावर्ती भारतको अस्कोटसंग छ । अस्कोटको इतिहास अनुसार सन् १२७९ मा अभय पाल रणचुलाहाटस्थित कत्युरी राज्यको राजधानीबाट अस्कोट आएका थिए । अभयपालले वरपरका विभिन्न अस्सीवटा कोटहरुको एकिकरण गरेर अस्कोट नामाकरण गरेको इतिहासमा उल्लेख छ ।
निरै पालको ऐतिहासिक अभिलेख डोटी डडेल्धुरा, पिथौरागढको डिडिहाट, र अल्मोडामा पनि भेटिएको छ । नेपालमा भेटिएको अभिलेख अनुसार निरै पालको राज्यकाल सन् १३५२ देखि सन् १३६२ सम्म थियो । अल्मोडाको पहाडमा निरैपाल लेखिएको ढुंगा सन् १३५४ भेटिएको छ भनेर इतिहासका जानकारहरु बताउँछन् । यी सबै ऐतिहासिक काल क्रमहरु समान देखिएकोले उकु भग्नावशेषमा निरै पालको ऐतिहासिकता र राज्यकालबारे शंका गर्ने ठाउँ नभएको जानकारहरु बताउँछन् । निरै पाललाइ उकु अस्कोटका राजा भनिएको छ । विभिन्न ठाँउहरुमा पाइएको ऐतिहासिक अभिलेखहरुले निरै पाल शक्तिशाली राजा भएका संकेत गर्छ । जसको केन्द्र महाकाली किनारमा अवस्थित उकु भएको कारणले यो स्थलको पुरातात्त्विक महत्त्वलाई वेवास्ता गर्न सकिदैन । निरै पाललाई उकुका रजबार भारती पालका पूर्ववर्ति राजबार थिए भन्ने कालक्रमहरुले प्रष्ट्याएको छ ।
उकुको इतिहास सम्वन्धी एउटा लेख अनुसार उकुकोटको खण्डहरुमा रहेको हरिहर मन्दिर नाग पालका तीनवटा रानीहरुले निर्माण गराएका थिए । नाग मल्ल डोटीका राजा थिए । यसको राजधानी हालको डडेल्धुरा जिल्लाको अजयमेरुकोटमा रहेको थियो । नाग मल्लको राज्यकाल लगभग सन् १३८४ देखि सन् १३९३ सम्म रहेको थियो । यसलाई आधार मान्ने हो भन्ने माथि उल्लेख गरिएको उकुको हरिहर मन्दिर नाग मल्लको राज्यकाल भित्र बनेको अनुमान गरिन्छ । मन्दिर स्थापनाबारेको स्पष्ट तिथि मिति भेटिएको भने छैन । तर पाल वंशहरुको भरतीय शोधकर्ताहरुले उकु राज्य अभय पालले स्थापना गरेको नभएर नाग मल्लले गरेका उल्लेख गरेका छन् । यसको प्रमाणको रुपमा सन् १२३८ को उकुको शिलालेख हो भनिएको छ ।
१६ औं शताब्दीमा पाल राजाले निर्माण गरेको उक्त दरवार क्षेत्रमा अहिले पनि विभिन्न आकृतिमा कुँदिएका मूर्तिहरु देखिन्छन् । तर भग्नावशेष महलको उत्खनन् र खोजी नीति नहुँदा ओझेलमा परेको छ । यस क्षेत्रमा यस्ता सयौं प्रकारका मूर्तिहरु र शिलालेखहरु भेटिने गरेका छन् । यो लेख लेख्ने क्रममा प्रत्यक्षरुपमा उकु महल परिसरमै गएर उकु गाउँको तस्बिर र अन्य महलका छरपस्ट भग्नावशेषका तस्बिरहरू उपलब्ध गराई सहयोग गर्नु भएकोमा श्री दिवाकर जोशीलाई धन्यवाद दिन चाहन्छु । साथै यो आलेख तयार गर्नमा आफ्नो जानकारीमा भएका कुराहरू प्रष्ट्पारि थप हौंसला प्रदान गर्नु हुने पुज्यनीय पिताज्यू र उपयुक्त वातावरण मिलाई सहयोग गर्नुहुने मेरी अर्धाङ्गिनी पार्वती देवी धामीलाई पनि हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
लेखक -मान सिंह धामी (भौनबाटी)                 
उप-प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस, धनगढी
स्थायी ठेगाना – 
मालिकार्जुन गाउँपालिका हुनैनाथ -४
गोठ्युडी (भौनबाटा)
दार्चुला
स्रोत –
 पन्त, दयाकृष्ण ९२०६७०, दार्चुलाको इतिहास,
महेन्द्रनगर ।
– जिल्ला प्रशासन कार्यालय दार्चुला वेभ साइट ।
– गुगल र अन्य सामाजिक सञ्जाल ।
– पाण्डेय, बद्रीदत्त ९२०२२०, कुमाऊँ का इतिहास, भारत ।

Leave A Reply

Your email address will not be published.