दार्चुला – दार्चुलामा प्रहरीलाई चक्कु हान्ने स्थानीय युवा अझै फरार छन् । गत शनिबार जिल्लाकै महाकाली नगरपालिका–१ दहमा प्रहरीलाई चक्कु हान्ने उमेश कुँवर फरार रहेका हुन् । उनलाई खोज्नका लागि जिल्ला प्रहरी कार्यालय दार्चुलाको टोली सक्रिय भएपनि पक्राउ गर्न सफल भएको छैन । कुँवरको खोजी गर्न दार्चुला प्रहरीलाई हम्मे–हम्मे परेको छ ।
शनिबार दिउँसो डियुटिमा खटिएका प्रहरी हवल्दार जय बहादुर खड्का र प्रहरी जवान डम्मर बहादुर ठगुन्नामाथि उमेशले चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट प्रहरी जवान ठगुन्नाको आँखाको तल्लो भाग र गर्धनमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीलाई चक्कु हान्ने उमेशले आफ्नै श्रीमतीलाई पनि कुटपिट गरेका थिए ।
सोही कुटपिटको उजुरीपछि प्रहरी उमेशको घरमा पुगेको थियो । सोही क्रममा उमेशले नै घरमा पुगेका प्रहरीलाई चक्कु हानी फरार भएका हुन् । सामुदायिक प्रहरी केन्द्र बाङ्गाबगरबाट खटिएका प्रहरीलाई उमेशले चक्कु प्रहार गरेका थिए ।
यता दार्चुला प्रहरीले भने कुँवरको खोजी कार्य जारी राखेको जनाएको छ । उनलाई पक्राउ गरी आवश्यक कारबाहीका लाई मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले बताए ।