गोदावरीका मेयरका पीएविरुद्ध मुद्दा नगर्न प्रहरीलाई दबाव

काठमाडौं- सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट बिक्रि गरेको घटनामा गोदावरी नगरपालिकाका मेयर बीरेन्द्र भट्टका स्वकीय सचिव (पीए) दिलिपकुमार साउँद पनि मुछिएका छन्।

साउँद अत्तरिया उद्योग वाणिज्य संघका सचिव समेत हुन्। सुदूरपश्चिम प्रादेशिक महोत्सवमा साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववीयु सभापति भुवन महराले टिकट व्यवस्थापनको जिम्मा पाएका थिए।

तर, महोत्सवमा नक्कली टिकट ठेली फेला परेको थियो।  महोत्सवमा नक्कली टिकट ठेली प्रकरणमा साउँद र महराको हात रहेको भन्दै उनीहरूविरुद्ध किटानी जाहेरी परेको हो। उनीहरुविरुद्धको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयका एसपी देबेन्द्रबहादुर पालको टेबुलमा पुगेपनि दर्ता नभएको हो।

स्रोतका अनुसार एसपी पाललाई काँग्रेसकै नेताले किटानी जाहेरी दर्ता नगर्न दबाब दिइरहेका छन्। तर, पालले भने किटानी जाहेरी प्राप्त भएको बताउँदै दर्ता हुने प्रक्रियामा रहेको जानकारी दिए।

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याणसिंह बोहरासहितका १२ जना पदाधिकारी उनीहरुविरुद्ध किटानी जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेका थिए।

अध्यक्ष बोहराले नक्कली टिकट प्रकरणमा आन्तरिक रुपमा छलफल गरेर संलग्नलाई गल्ती स्वीकार गर्न आग्रह गरिएको भएपनि त्यस्तो नगरिएपछि उनीहरुविरुद्ध अनुसन्धानका लागि प्रहरी कार्यालयमा उजुरी दिएको बताए।

Leave A Reply

Your email address will not be published.