काठमाडौं – सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरीलाई सीआईबीले पक्राउ गरेको विषयमा कांग्रेस संसदीय दलभित्र आज गम्भीर छलफल भएको छ । कांग्रेस सांसदसमेत रहेका अरुणका दाइ तथा सीजी ग्रुपका प्रमुख विनोद चौधरीले यस प्रकरणमा ब्रिफिङ गरेका छन् ।
चौधरीले यो गिरफ्तारी राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको दाबी गरेका थिए । उनले बाँसबारी छालाजुत्ताको जग्गा सीजी होल्डिङले अनाधिकृत कब्जा गरेको अस्वीकार गरे । चौधरीलाई उद्वृत गर्दै स्रोतले भन्यो, ‘हाम्रो परिवारमाथि राजनीतिक प्रतिशोध लिन खोजिएको छ । यो विषयमा कांग्रेस र अर्थमन्त्रीले बोल्नुपर्छ । म गलत भए मलाई कारबाही होस्, होइन भने यसरी बिनाकसुर बदनाम गर्न पाइँदैन ।’
चौधरीका अनुसार च्याम्पियन फुटवेयर भन्ने चालू अवस्थाको कम्पनीले २०५२ सालमा खुल्ला प्रतिस्पर्धाबाट बाँसवारी छालाजुत्ताको शेयर खरिद गरेको थियो । तत्कालीन सरकारले खुल्ला बजारको अर्थनीति अनुसार बिक्रीमा राखेको शेयर खुल्ला प्रतिस्पर्धाबाट लिएको तथा सोही कम्पनीको सम्पत्तिको रुपमा उक्त जमिन रहेको चौधरीले प्रष्ट्याए ।
लगानी सम्मेलनको मुखमा निजी क्षेत्रका अगूवाहरुलाई छानिछानि सिध्याउने षड्यन्त्र भएको चौधरीले आरोप लगाएका छन् ।
शर्मा भन्छन्प्र–धानमन्त्री र गृहमन्त्रीको अन्डर टेबल डिल गर्ने डिजाइन
कांग्रेस सांसद सुनील शर्माले कडा प्रतिक्रिया दिँदै अरुण चौधरीको गिरफ्तारी प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठको डिजाइनमा भएको बताए ।
उनले भने, ‘राम्रो ढंगले हेर्नुभयो भने मिनबहादुरको गिरफ्तारीदेखि अहिलेसम्म ठूला ठूला उद्योगपति र ठूला घरानाहरुलाई ह्यारेस गरेर अन्डरटेबल डिल गर्ने प्रचण्ड र नारायणकाजीको डिजाइन देखिन्छ ।’
यो गिरफ्तारीको विरोधमा नेपाल उद्योग वाणिज्य महासंघले आन्दोलनका कार्यक्रम ल्याउन सक्ने उनले बताए ।