विवादित डीआइजी अर्जुन चन्दद्वारा राजीनामा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले राजीनामा दिएका छन्।

डीआईजी चन्दले आज (शनिबार) राजीनामा दिएका हुन्। उनले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन्। तर, प्रहरी प्रधान कार्यालयले भने औपचारिक रुपमा राजीनामाको जानकारी आइनसकेको बताएको छ।

चन्दले १३ वैशाखमा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए। चन्द हालका प्रहरी महानिरीक्षक वसन्त कुँवरकै ब्याचका अधिकृत हुन्।

स्वेच्छिक अवकाशको बाटो नरोजेको भए उनी ३० वर्षे सेवा हद कायमै रहँदा २०८१ चैतसम्म प्रहरीमा रहने थिए।

गत साताको विमानस्थलमा प्रहरीले सुरक्षा जाँच गरेको विषयमा अध्यागमन कर्मचारी र प्रहरीबीच कुटाकुट भएको थियो।

अध्यागमन अधिकृत छायालाल मोक्तान र विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि प्रहरीले हातपात गरेका थिए। सोही विषयलाई लिएर पनि उनले राजीनामा दिएको बुझिएको छ।

चन्द तीनै विवादित डीआईजी हुन्, जसले नेपाल वायुसेवा निगमलाई आफूसहित परिवारका लागि बैंकक घुम्न सित्तैमा टिकट मागेको खुलासा भएको थियो।

Leave A Reply

Your email address will not be published.