काठमाडौ- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।
आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । उनले भने, “आज रातिबाट नेपालमा सुदूरपश्चिम प्रदेशबाट पश्चिमी वायुको प्रभाव फेरि बढ्ने देखिन्छ, आइतबारका लागि विषेश गरी कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।”
यसैगरी कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा आज हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले काठमाडौँको वायुको तापक्रम १२ डिग्री सेल्सियस मापन गरिएको तथा पारदर्शिता चार हजार पाँच सय मिटर रहेको मौसम पूूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाइएको छ ।
सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा फाट्टफुट्टदेखि हल्का वर्षाको सम्भावना रही कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।