प्रहरी जवानले गरे श्रीमती र छोराको हत्या

काठमाडौं– दाङको घोराहीमा प्रहरी जवानले आज(आइतबार) बिहान श्रीमती र छोराको हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेका हुन्।

‘नेपालगन्जबाट श्रीमती आएकी छिन्’ भनी शनिबार राति कार्यालयबाट बिदा मागेर गएका नेपाली घोराहीको सहिद गेटस्थित सुपरलज होटलको कोठा नं.१ मा बास बसेका थिए।

आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको उनी आफैंले स्वीकार गरेका छन्।

श्रीमती र छोराको हत्यापछि उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जनकबहादुर मल्लले बताए।

नेपालीको घर रुन्टीगढी गाउँपालिका–९, रोल्पा हो भने श्रीमतीको माइती रुकुम चौरजहारी हो। मल्लका अनुसार नेपाली लामो समय नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए।

उनी दुई महिनाअघि मात्रै सरुवा भएर दाङ आएका थिए। उनले प्रहरीमा जागिर गरेको १० वर्ष भइसकेको मल्लले बताए। घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.