१० लाखसम्मको स्वास्थ्य बीमा निर्धारण गरिनुपर्छ : सांसद शर्मा

दार्चुला – प्रतिनिधि  सभा सदस्य एवं मेडिकल संचालक डाक्टर सुनिल कुमार शर्माले स्वास्थ्य बीमाको रकम १० लाखसम्म निर्धारण गरिनुपर्ने बताउनुभएको छ ।

सोमवार नेपाल प्रेस युनियन दार्चुलाले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा शर्माले सरकारले स्वास्थ्य बीमाको रकम बढाएर १० लाखसम्म पुर्याउनुपर्ने बताउनुभएको हो ।

१० लाखसम्मको स्वास्थ्य बीमा रकम निर्धारण गरिएको ९८ प्रतिशत समस्या हल हुने उनले बताए । उनले भने–‘सरकारले स्वास्थ्य बीमाको रकम बढाएर १० लाखसम्म पुर्याउनुपर्छ, यसो गर्यो भने ९८ प्रतिशत समस्या हल हुन्छ ।’ सरकारले एक वर्षको ३ हजार ५०० रुपैयाँ बुझाएमा ५ जनासम्म सदस्य रहेका परिवारको एक लाखसम्म खर्च हुने उपचार प्रदान गर्ने गरेको छ ।

जसअनुसार पाँचभन्दा धेरै सदस्य रहेको परिवारले प्रति सदस्य ७०० रुपैयाँ थप तिरेमा थप २० हजारसम्मको उपचार सेवा पाउन सक्ने व्यवस्था छ ।

यस्तै जेष्ठ नागरिक अथवा ७० वर्ष उमेर पुगेका सदस्य भए प्रिमियम नतिरेरै एक लाखसम्मको उपचार पाउन सकिने व्यवस्था छ । सरकार नागरिकप्रति जिम्मेवार र गम्भीर नभएकाले स्वास्थ्य क्षेत्र लथालिंग रहेको उनको भनाई थियो ।

 

काठमाण्डौं मेडिकल कलेजले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा स्वास्थ्य शिविर लिएर आएकोमा साँसद शर्मा पनि यसका लागि दार्चुला पुगेका हुन् ।

Leave A Reply

Your email address will not be published.