दार्चुला- दार्चुला-टिंकर सडक खण्डलाई छुट्टै याेजना बनाउन नेकपा एकीकृत समाजवादी पार्टीले माग गरेको छ ।
मंगलवार समाजवादी पार्टी दार्चुलाका सह-इन्चार्ज गणेश कुमार जाेशी लगायतका नेताहरुले नेपाल सरकारका भाैतिक पूर्वाधार विकास मन्त्री प्रकाश ज्वालालाई काठमाडौमा विशेष ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।
उनीहरुले बुझाएको ज्ञापनपत्रमा महाकाली काेरिडाेरबाट खलंगा-टिंकर सडकलाई छुट्याएर अलग्गै याेजना बनाउन र निर्माण कार्यलाई गति दिन माग गरिएको छ ।
मन्त्री ज्वालालाई बुझाइएको ज्ञापनमा भनिएको छ – `यो सडकलाई सिङ्गो महाकाली कोरिडोर खण्डबाट छुटाई राष्ट्रिय गौरबको योजनाअन्तर्गत खलंगा-टिकर सडकखण्ड नामाकरण गरियोस् ।
साथै उक्त आयोजनाको निम्ति प्रयाप्त बजेटको समेत व्यवस्था गरि उक्त सडकखण्डलाई द्रुत गतिमा अगाडि बढाई समयमै सम्पन्न गराउन समेत विशेष पहल कदमीका निम्ति यो विशेष ज्ञापन पत्र पेश गर्दछौ ।´
नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला-टिंकर सडकको हालसम्म करिव साढे १० किमि मात्रै ट्याक खोलिएको छ ।