दार्चुला – नेपाल प्रहरीले आज बुधबार विशेष समारोहको आयोजना गरी ६६ औं प्रहरी दिवस मनाएको छ । प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको सम्झानामा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ । दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दार्चुलाले औपचारीक रुपमा कार्यक्रमको आयोजना गरेको छ ।
बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रममा दिवंगत अमर प्रहरीहरुको सम्झना र विभिन्न व्याक्तिहरुलाई सम्मान गरिएको छ । सुदूरपश्चिम प्रदेश सभाका उपसभामुख निर्मला बडाल जोशीको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा महाकाली नगरपालिकाका प्रमुख हंशराज भट्ट, मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामी, नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामी, प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशी, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, मानवअधिकारकर्मी, समाजसेवी लगायत विभिन्न व्याक्तित्तवहरुको आतिथ्यता रहेको थियो ।
प्रहरी दिवसको अवसरमा दार्चुला प्रहरीले ११ जना उत्कृष्ट प्रहरी १० जना उत्कृष्ट चालक, , एक जना ७० वर्ष बढी उमेरका पुर्वप्रहरी दिलानन्द बडू र दुई जना प्रहरीलाई जग्गादान गर्ने जग्गादातालाई सम्मानित गरेको छ । दिवसको अवसरमा तीन दिन पहिलेदेखि नै सरसफाइ, मास्क वितरण, बृक्षारोपण लगायतका गतिविधि गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरी दिवसको अवसरमा साँझ दिपावली गरिएको र दशैंको अवसरमा शुभकामना आदान–प्रदान समेत गरिएको बताइएको छ ।
६६ औं प्रहरी दिवसको अवसरमा दार्चुलाका १० जना सवारी चालकलाई सम्मान एवं पुरस्कृत समेत गरिएको छ । लगातार तीन वर्ष सम्म सवारी साधन चलाउदै आएका तथा असल बानी व्यहोरा ,अनुशासन भएका सवारी चालकहरुलाई प्रहरी दिवसको उपलक्ष्यमा सम्मान एवं पुरस्कृत गरिएको जिल्ला ट्राफिक कार्यालय दार्चुलाका प्रमुख हिक्मत सिंह महताले जानकारी दिनुभयो । सम्मानित हुनेमा गगन सिंह धामी, केशर सिंह महरा, अकबर सिंह ठगुन्ना, मुकेश राना देव दत्त भट्ट, दिपेन्द्र बहादुर विष्ट, गजेन्द्र सिंह ठगुन्ना, खगेन्द्रराज जोशी, मोहनराम कोली, र रघुबिर सिंह धामी रहेका छन् । ट्राफिक प्रहरीले विभिन्न चार वटा मापदण्डका आधारमा सवारी चालकहरुलाई छनौट गरी सम्मान गरेको हो ।
लामो समय तीन वर्षसम्म सवारी साधन चलाउदै आएको, सवारी साधन सम्बन्धी कुनै पनि अभियोगमा प्रहरीमा नआएको, दुर्घट्ना नगरेको र यात्रुहरुबाट चालकबारे कुनै पनि गुनासा नआएको आधारमा उनीहरुलाई प्रहरी दिवसको अवसरमा सम्मानित एवं पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।