इलाम र बझाङमा वैशाख १५ मा उपनिर्वाचन हुने

काठमाडौं–निर्वाचन आयोगले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते उपचुनाव गराउने निर्णय गरेको छ ।

आयोगको आइतबार बसेको बैठकले कोशी प्रदेशको इलाम–२ र सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ (क) मा वैशाख १५ गते निर्वाचन गराउने निर्णय भएको आयोगका उपसचिव एवम् सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिए ।

‘‘निर्वाचन आयोगको आज मिति २०८० फागुन १३ गते बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको परामर्श समेतको आधारमा इलाम जिल्ला निर्वाचन क्षेत्र नं २ का रिक्त प्रतिनिधि सभा सदस्य पद एक र सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ (क) मा रिक्त प्रदेश सभा सदस्यको उपनिर्वाचन आगामी २०८१ साल वैशाख १५ गते शनिबार गर्ने गरी निर्वाचनको मिति तोकेको छ ।’’ निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

इलाम निर्वाचन क्षेत्र २ बाट निर्वाचित तत्कालीन प्रतिनिधि सभा सदस्य नेकपा (एमाले) का नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो ।

त्यस्तै, बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित नेपाली कांग्रेसका पृथ्वी बहादुर सिंहको गत असार २५ गते गाडी दुर्घटनामा निधन भएको थियो ।

Leave A Reply

Your email address will not be published.