छाङरुस्थित सशस्त्रको गुल्म भवन निर्माण कार्य लगभग सकियो, ४ करोड भुक्तानी हुन बाँकी नै

काठमाडौं– दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरुस्थित गागामा सशस्त्र प्रहरीको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म भवन निर्माणको कार्य ९५ प्रतिशत सम्पन्न भएको हो । भवनको निमार्ण कार्य ९५ प्रतिशत पूरा हुँदा पनि ४ करोड २७ लाख रुपैयाँ भुक्तानी हुन सकेको छैन् ।

सरकारले कालापानी, लिपुलेक लिम्पियाधुरा क्षेत्र समेटेर चुच्चे नक्सा जारी गरेपछि सो क्षेत्रमा राज्यको उपस्थिति गराउन सशस्त्र प्रहरीको नम्बर ५० गुल्म भवनको निर्माण कार्य गरिएको थियो । भवन निर्माणको काम ९५ प्रतिशत सकेर सो क्षेत्रमा सशस्त्र प्रहरीले भोगचलन गर्दै आएपनि निमार्ण कम्पनिले भने भुक्तानी नपाएपछि उक्त भवन खाली गर्ने चेतावनी दिएको छ । निमार्ण कम्पनीका प्रतिनिधि ललित सिंह बोहराले भवनको भौतिक संरचनाको निर्माण कार्य ९५ प्रतिशत सम्पन्न हुँदासमेत राज्यका तर्फबाट भुक्तानी नहुनु दु्ःखद भएको बताए ।

 

हामीले आफ्नो तर्फबाट गर्ने काम गरिसकेका छौं, अब ५ प्रतिशत मात्रै काम बाकीँ छ बोहराले भने । भौगोलिक विकटता भएको क्षेत्रमा समयमै काम सम्पन्न गर्दा सरकारले पुरस्कृत गर्नुको साटो उल्टै भुक्तानी रोकेर दैनिक ज्यालादारीमा काम गर्ने काममदारहरुले समेत दुःख पाएको कम्पनिका प्रतिनिधि बोहराले बताए ।

२०७६ मंसिर २३ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार भवन निर्माणका लागि भन्दै ११ करोड बजेट स्वीकृत भएको थियो । भवन निर्माणका लागि १० करोड १ लाख ४५ हजार ४६४ रुपैयाँ निर्माण कम्पनीसंग सम्झौता गरिएको थियो । अहिलेसम्म ९५ प्रतिशत निमार्ण कार्य सम्पन्न गर्दा पनि ४ करोड ६५ लाख २६ हजार १ सय ३ रुपैयाँ मात्रै भुक्तानी पाएको कम्पनिका प्रतिनिधि बोहराको भनाई छ । यसैबीच सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले भुक्तानी त्यसै नरोकिने बताए ।

उनले सम्झौता बमोजिम काम नभएको खण्डमा अथवा निश्चित मापदण्ड पूरा नगरेको खण्डमा मात्रै रोकिने र यस विषयमा आफूलाई कुनै जानकारी नआएको बताए ।

‘म प्राविधिक पक्षको होईन् यसबारे मैले पनि बु्झ्नुपर्ने हुन्छ, के कति कारणले रोकिएको हो, अहिले ९५ प्रतिशत काम सकियो भन्ने कुरा सुनियो तर के कति काम भएको छ अब हाम्रा इन्जिनियर र प्राविधिकहरुले बुझ्छन्, त्यसपछि बाँकी काम वा भुक्तानी हुन्छ–उनले भने ।’ बरिष्ठ उपरीक्षक खड्काले आफूले भुक्तानी रोकिएको बिषय र अन्य निर्माणको कार्य बारे निर्माण कम्पनीसंग बुझ्ने बताए ।

Leave A Reply

Your email address will not be published.