काठमाडौं– केन्द्रमा सत्तारुढ गठबन्धन फुटेर नयाँ समीकरण बनेसँगै प्रदेशमा पनि नयाँ सरकार बन्ने देखिएको छ। जसअनुसार सुदूरपश्चिममा पनि नयाँ सरकार बन्ने भएको हो। अहिलेको नेपाली काँग्रेस नेतृत्वको सरकार भङ्ग भएर नयाँ समीकरणको सरकार बनाउने तयारी थालिएको स्रोतको दाबी छ।
हाल सुदूरपश्चिममा काँग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन्। अब फेरिएको समीकरणमा भने नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी गरेका छन्। तर नाउपाको मुख्यमन्त्री पाउने सम्भावना न्यून छ।
जसअनुसार माओवादीका संसदीय दलका नेता मानबहादुर धामी अब सुदूरपश्चिमको नयाँ मुख्यमन्त्री बन्ने छन्। पूर्व वनमन्त्रीसमेत रहेका धामी दार्चुलाबाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। उनी हालै खगराज भट्टलाई हटाएपछि माओवादी दलको नेता बनेका थिए।
उनै धामीले केन्द्रको परिवर्तनसँगै प्रदेशमा पनि छलफल थालिएको महेन्द्रनगरपोष्टलाई बताए। केन्द्रमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा, नेकपा एससहितको गठबन्धन टुटेर नयाँ समीकरणको सरकार बन्ने भएको छ।सोही अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा आज नयाँ समीकरणसहित मन्त्रिमण्डल गठन हुने भएको हो।
एमाले, माओवादी, रास्वपा र जसपाका एक एक जना मन्त्रीको आजै साँझसम्ममा शपथ ग्रहण हुने बताइएको छ। सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादीलाई पनि नयाँ गठबन्धनमा सामेल गराउने निर्णय गरेको छ। सुदूरपश्चिममा पनि माओवादीको नेतृत्वमा एमाले, नागरिक उन्मुक्ति पार्टी र समाजवादीसहितको संयुक्त सरकार बन्ने सम्भावना छ।