काठमाडौं– कैलालीमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका-१ की अन्दाजी ५० वर्षीया जसुता बटालाको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
टीकापुर–२ मा रहेको रानीकर्णाली सामुदायिक वनमा घाँसदाउरा गर्न गएकी उनको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक लोकराज अवस्थीले बताए ।
समूहमा घाँस काट्न गएका महिला हात्ती देखेपछि भागेका थिए । अरु भाग्न सफल भएपनि बटालाको भने मृत्यु भएको उनले बताए । बटालाको शव अहिले टीकापुर अस्पतालमा राखिएको छ ।