सुदूरपश्चिममा बर्खास्तमा परेपछि दलका नेताको टोली पुगे सभामुख कक्षामा

काठमाडौं– सुदूरपश्चिम प्रदेशमा कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका नेताहरूले सभामुख भीम भण्डारीलाई भेट गरेका छन्। कांग्रेस प्रमुख सचेतक विक्रम धामीको नेतृत्वमा कांग्रेसका केही नेता र नाउपका संसदीय दलका नेता घनश्याम चौधरीको टोली सभामुख भण्डारीलाई भेट्न पुगेका हुन्।

हिजो नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले दलको नेता घनश्याम चौधरीलाई बर्खास्त गरेकी थिइन्। रन्जिताले सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीलाई पत्र लेख्दै घनश्यामको जिम्मेवारी खोसेर कैलाश चौधरीलाई जिम्मेवारी दिएकी थिइन्।

नाउपाकै एक सांसद इन्दिरा गिरी पनि हिजो पदमुक्त भएको छन्। आज दुवै जना सभामुख कक्षमा पुगेका हुन्। यता सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले समानुपातिक सांसद पठाउने र फिर्ता बोलाउने अधिकार सम्बन्धित पार्टीको केन्द्रीय कमिटीमा निहित हुने बताएका छन् ।

नागरिक उन्मुक्ति पार्टीकी सांसद इन्दिरा गिरीलाई पार्टीले गरेको कारबाही सदर गरेपछि मंगलबार बिहान कांग्रेस र नाउपाका सांसदले संसदीय व्यवस्था ख्याल गर्न ध्यानाकर्षण गराएका थिए । लगत्तै सभामुख भण्डारीले सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै कानुनअनुसार समानुपातिक सांसद पठाउने र फिर्ता बोलाउने अधिकार सम्बन्धित राजनीतिक दलको केन्द्रीय कमिटीलाई हुने र गिरीको हकमा सोहीअनुसार निर्णय लिइएको बताएका हुन् ।

‘समानुपातिक सांसदको बन्द सूची पठाउने, सांसद पठाउने र फिर्ता बोलाउने अधिकार पार्टीको केन्द्रीय कमिटीलाई हुन्छ,’ सभामुख भण्डारीले भने, ‘उहाँ (गिरी)लाई फिर्ता बोलाइएको पत्र नाउपाको केन्द्रीय कमिटीले पठाएको थियो । राजनीतिक दल सम्बन्धी ऐनमा भएको व्यवस्था अनुसार प्रदेश सभाले सूचना जारी गरेको हो ।’ भण्डारीले प्रदेश सभा बैठक नचलेको अवस्थामा सूचना जारी गरेर जानकारी दिने प्रावधानमा आफू गएको बताए ।

नाउपाले प्रदेश संसदीय दलको नेता परिवर्तन गरेको जानकारी आफूलाई प्राप्त भएको बताउँदै भण्डारीले सांसदले दल नेता चयन गर्ने कुरामा आफू प्रष्ट रहेको बताएका छन् । तर पार्टी र दलको छुट्टाछुट्टै निर्णय आएको अवस्थामा कानुनी सल्लाहअनुसार निर्णय लिने उनको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.