यसवर्ष दार्चुलामा समयमै पाठ्यपुस्तक, भर्ना अभियानमै वितरण गरिने

दार्चुला– हिमाली जिल्ला दार्चुलामा यस वर्ष भने समयमै पाठ्यपुस्तक पुगेको छ । वर्षेनी पाठ्यपुस्तकको अभाव हुने दार्चुलामा यस वर्ष शैक्षिक सत्र सुरु हुनुभन्दा पहिले नै पाठ्यपुस्तक जिल्ला पुगेको हो । आगामी शैक्षिक सत्रका लागि जिल्लाका पुस्तक बिक्रेताहरूसँग पाठ्यपुस्तक पुगिसकेको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिए ।

उनका अनुसार निशूल्क रुपमा उपलब्ध हुने कक्षा १ देखि कक्षा १० सम्मका २२ हजार बढी पाठ्यपुस्तक जिल्लाका ९ वटै स्थानीय तहमा पुगिसकेका छन् । चैत्र २० गते नै जिल्लामा पाठ्यपुस्तक भित्रिएको थियो ।

शैल्यशिखर – ६ पनेबाजमा रहेको पुस्तकालय
  शैल्यशिखर – ६ पनेबाजमा रहेको पुस्तकालय

विद्यार्थीले भर्ना हुने बित्तिकै पाठ्यपुस्तक पाउने अवस्था रहेको तथा स्थानीय तहका विद्यालयहरुले बैशाख ५ गते पाठ्यपुस्तक दिवसका दिन विद्यार्थीहरुको हातहातमा पुस्तक दिने तयारी गरिरहेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख पन्तले बताए ।

‘चैत अन्तिम सातातिर नै जिल्लामा कक्षा १ देखि १० सम्मका सबै विषयका पाठ्यपुस्तक आइपुगेका छन्,’ उनले भने, ‘अहिले स्थानीय तहका विभिन्न विद्यालयमा पठाउने काम भइरहेको छ । भर्ना अभियानका दैरान सबै विद्यार्थीले पाठ्यपुस्तक पाउने अवस्था हुन्छ ।’ समयमै पाठ्यपुस्तक पुगेपछि पठनपाठनका लागि सहज हुने उनले बताए । माध्यमिक तह सम्मका लागि जिल्लामा करिब २५ हजार पाठ्यपुस्तक आइपुगेको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.