दार्चुला– दार्चुलाका व्यवसायिक मासु तथा डेरी कृषकहरुलाई आवश्यक पर्ने उपकरण वितरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाको लागत साझेदारीमा डेरी तथा मासु पसल सुधारका लागि जिल्लाका व्यवसायिक कृषकहरुलाई मेसिन, औजार तथा उपकरण वितरण गरिएको हो ।
कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम अनुसार जिल्लाका व्यवसायिक १० जना मासु तथा डेरी कृषकहरुलाई आवश्यक पर्ने उपकरणहरु हस्तान्तरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका कार्यालय प्रमुख गुमानी दत्त पन्तले जानकारी दिए ।
बुधवार जिल्ला समन्वय समिति प्रमुख महादेव बडू र प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको उपस्थितिमा एक कार्यक्रमका बीच कृषकहरुलाई औजार उपकरण हस्तान्तरण गरिएको हो ।
डेरी पसल सुधारका लागि डेरी कृषकहरुलाई, डि फ्रिज, जोख्ने तराजु, मिल्क क्यान वितरण गरिएको छ । यस्तै मासु कृषकहरुका लागि फ्रिज, जोख्ने तराजु, मासु काट्ने सामाग्री र ग्याँस चुलो लगायतका उपकरण वितरण गरिएको कार्यालय प्रमुख पन्तले बताए ।
कृषकको लागत साझेदारीमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाले १ लाख मूल्य बराबरका उपकरण सहयोग गरेको जनाएको छ ।