दार्चुला– राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसका अवसरमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा मालिकार्जुन नमुना मावि धापका विद्यार्थीले प्रथम र द्धितीय स्थान हासिल गरेका छन् ।
‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र संचार’ विषयक महाकाली नगरपालिका अन्तरगतका विद्यार्थी सहभागी हुने माध्यमिक स्तरीय वक्तृत्वकला प्रतियोगितामा मालिकार्जुन नमुना मावि धापका छात्र बिराजमान बडू प्रथम र धापकै छात्रा जेनी धामी द्धितीय भएका हुन् । यस्तै छन्ना तिंकरी कन्या मावि खलंगाका छात्रा सुप्रिया जोशीले तृतीय स्थान हासिल गरेकी छन् । यस्तै महेन्द्र नमुना मावि खलंगाका नवीन राज बडूले सान्त्वना स्थान हासिल गरेको जिल्ला हुलाक कार्यालय दार्चुलाका निमित्त हुलाक अधिकृत मोहन राज ओझाले जानकारी दिए ।
वक्तृत्वकला प्रतियोगितामा महाकाली नगरपालिकाका ४ माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा महेन्द्र नमुना मावि खलंगा, मालिकार्जुन नमुना मावि धाप, छन्नातिंकरी कन्या मावि खलंगा र अलकापुरी मावि कोटकौतलीका विद्यार्थीले प्रतिष्पर्धा गरेका थिए ।
प्रतियोगिता जिल्ला हुलाक कार्यालय दार्चुलाको आयोजना र महाकाली नगरपालिकाको सहयोगमा संचालन गरिएको हो । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीलाई नगद पुरस्कार वितरण गरिएको छ । प्रथम हुने विद्यार्थीलाई नगद ५ हजार रुपैयाँ, दोस्रो हुनेलाई नगद ३ हजार, तृतीय हुनेलाई २ हजार र सान्त्वना पुरस्कार १ हजार वितरण गरिएको निमित्त हुलाक अधिकृत ओझाले बताए ।