घरको छतमा टावर राख्ने कम्पनी नै सम्पर्कविहीन भएपछि…

काठमाडौं– शुक्लाफाँटा नगरपालिका–१० झलारीका गगनराज भट्टको तीनतले घरको छतमा ठड्याइएको युनाइटेड टेलिकम (युटिएल)को टावर जोखिमयुक्त अवस्थामा रहेको छ । मोबाइल सेवा प्रदान गर्न १४ वर्षअघि घरधनीसँग १० वर्षको सम्झौता गरी निर्माण गरिएको टावरको मर्मतसम्भार नहुँदा जोखिम बढेको हो ।

६ हजार ५ सय मासिक भाडा दिनेगरी २५ मिटर अग्लो टावर निर्माण गरिएको घरधनी भट्टले बताए ।
उहाँका अनुसार टावर राखेदेखि मर्मतसम्भार नहुँदा टावरका नटबोल्ट खुकुलो भएर जोखिम बढेको छ भने अर्थिङ गर्न राखिएको तार चोरी भएको छ । “चट्याङ पर्ने सम्भावना पनि उत्तिकै छ । हावाहुरीको समयमा त टावर निकै हल्लिने गरेकाले बजार क्षेत्रका तीन घरसहित सडकमा हिँड्ने यात्रुलाई पनि कतिबेला के हुने हो भन्ने चिन्ता छ”, भट्टले गुनासो गरे ।

लामो समयदेखि कम्पनीबारे सोधपुछ गर्दा कार्यालय र सम्बन्धित कोही व्यक्ति नभेटाएपछि जिल्ला प्रशासन कार्यालयलाई लिखित जानकारी गराउँदा पनि समाधान हुननसकेको उहाँले बताए।
टावरसँगै घरमा भाडामा लिएको एउटा कोठामा दुईवटा वातानुकूलित (एसी) र ८० भन्दा बढी ब्याट्री अलपत्र अवस्थामा छन् । टावरका लागि प्रयोग भइरहेको विद्युत्को महसुल ३ लाख पुग्दा पनि भुक्तानी नभएकाले नेपाल विद्युत् प्राधिकरणले विद्युतलाइनसमेत काटिदिएको छ । रासस

Leave A Reply

Your email address will not be published.